ख्वप कसरी भक्तपुर नामाकरण भयो ?

0
401

नेपाल एक प्राचीन देश त हुँदै हो। परापूर्वकालदेखि थुप्रै जाति तथा मानिसहरु बसोबास गर्दै आएका छन्। यसै क्रममा विभिन्न शहरहरु, विभिन्न नगरहरू बने र त्यसलाइ शासन गर्ने शाशक बने। यस्ता बस्तीहरुमा मानिस बस्दथे र उक्त ठाउँलाई तत्कालिन समय अनुसार नाम दिइन्थ्यो ।

तीमध्ये प्राचीन सहर भक्तपुरको नामाकरणको बारेमा यो लेखमा चर्चा गरिएको छ। भक्तपुरको नाम कसरी भक्तपुर रहन गयो भन्दा अगाडि कस्तो थियो यो सहर भएर हामीले बुझुनु पर्दछ।

हालको नाम जुद्धशमशेरले भक्तपुर राखे तापनि यहाँ लोकजीवनमा भने यस नगरलाई पुरानो नाम ‘ख्वप’ नै भनेर चिनिन्छ। ‘ख्वप’ शब्द कसरी पुरानो भयो भन्दा बिभिन्न लिच्छविकालीन अभिलेखहरु हेर्नुपर्ने हुन्छ। सर्वप्रथम यो शब्द देवपाटनको मानदेव कालको रत्नसङ्घले राख्न लगएको अभिलेखमा परेको छ। यसमा `खोपृङ्ग्रामप्रदेश´ भनी उल्लेख परेको छ। प्रसिद्ध इतिहासकार धनवज्र वज्राचार्यको अनुसार यो कुनै संस्कृत शब्द नभई किराती शब्द हो र यो भेगमा किरातकालमा मानिस बस्दथे र  प्रसिद्ध थियो। तर हरेराम जोशीले यो किरातकालिन शब्द नभई नेवारी र संस्कृत शब्द भएको बताउनुहुन्छ। जे होस यसबाट के थाहा पाउन सकिन्छ भने आजभन्दा २००० बर्ष अघि नै यहाँ मानव बस्ती रहेको थियो।

खोपृङ्को उल्लेख भक्तपुरकै गोलमढी (माखोपृम् द्रङ्ग), तुलाछे (खोपृङ्ग्राम) र कुमाले (माखोदुलुं) टोलहरुमा पनि पाइएको छ। अन्य विभिन्न अभिलेखको कुरा गर्दा चांगु मानदेवको अभिलेखमा `खकम्प्रिङ्´ र जिष्णुगुप्तको पशुपतिको अभिलेखमा `खुलप्रिङ्´ परेका छन। यहा केही शाब्दिक फरक मात्र नभई यस शब्दले उक्त समयको राजनीतिक र सामाजिक अबस्था चित्रण गर्दछ।

यी अभिलेखहरुमा विभिन्न शब्द परेता पनि सबैमा केही समान भेट्टिने शब्द नै ‘ख्पव’ को रुपमा रहेको छ। अब यो शब्द के हो भनेर अर्थ खोज्ने हो भने यो शब्दको आधिकारिक पुष्टि भएको देखिदैन। यद्यपि इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार `खो´ ले खोला बुझाउँछ भने `प´ भनेको परिवर्तन भएको शब्द ‘पृङ्ग्’ को रुप हो , जसले बस्ती बुझाउन्छ। यसको मतलब ख्वप भनेको खोलाको बस्ती हो। भैगोलिक रुपमा हेर्ने हो भने भक्तपुरलाइ खासाङ्खुसुङ् र हनुमन्ते खोलाले वरिपरी घेरेको छ। तर इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ अझ थप तर्क दिदै लेख्नु हुन्छ, “पहिले सुकुलढोका तुलाछे क्षेत्रमा खोला बग्दथियो।” त्यसैले यस ठाउँलाई खोलाको शहर भनिएको हुनु पर्दछ। यद्यपि अहिले यहाँ खोलाको ठाउँमा बाटो रहेको छ।

यसरी किरात समयदेखि ‘खोपृङ्ग्राम’ नाम रहँदै आएको थियो। तर लिच्छविकालमा संस्कृत भाषा बढी बोलिने गरिन्थ्यो। जसको कारण किराति नाम संस्कृतमा परिवर्तन हुन पुग्यो। यस सन्दर्भलाई व्याख्या गर्दै धनवज्र वज्राचार्य भन्नू हुन्छ, खो भनेको भात बुझाउने शब्द हो। संस्कृतमा भक्त भन्ने शब्द भक्तालु मात्र नभई भात पनि हो। यसै आधारमा किराँती नाम संस्कृतिकरण भइ खो बाट भक्त भयो र ‘पृङ्ग्राम’ शब्द भने बस्ती बुझाउने शब्द ग्राम भयो। मध्यकालसम्म ख्वप नाम नै चलेता पनि बिस्तारै यसको नाम परिवर्तन भयो। बि.स १९९२ को अभिलेखमा समेत ‘भद्रग्राम’ परेको छ। यसरी अपभ्रंश भई भक्तग्राम, भद्रग्राम, भक्तगाउबाट भातगाउँ  हुन पुग्यो। यसरी जन जीवनमा बदलिदै आएको नामलाइ आफू प्रधानमन्त्री हुँदा जुध्द शमशेर जंगबहादुर राणाले मन्दिर नै मन्दिर भएकाले भक्तहरुको शहर भक्तपुर नामाकरण गरिदिए।

अब यो ठाउँमा कसरी बस्ती रहन गयो भनेर कुरा गर्दा हामीले लिच्छविकालीन समय अलिकति बुझ्नुपर्ने हुँन्छ। यो त प्रमाणित भइसकेको कुरा हो कि पहिला यस काठमाडौ उपत्यका पानीले भरिएको थियो। जब पानी यहाँबाट बाहिर गयो तब यहाँ मानिसहरु बस्न थाले। तर मुनिको भाग भन्दा पहिला डाँडाहरु चाडै सुक्न थाले र बस्न योग्य भयो। त्यसैले मानिसहरु पहिला डांडामा बस्न थाले र त्यस भागमा नै बस्ती बन्दै गयो। यसक्रममा किराँतीकालिन समयमा पनि डांडामा र त्यसको छेउमा मानिसहरु बस्ने गर्दथे। तर किरातहरुलाइ पन्छाए पछि लिच्छविहरू भने सम्म परेको जमिन तिर सरे। उनीहरू बिस्तारै डाँडाबाट सर्दै सर्दै उपत्यकाको बिच भागमा आउन थाले। धनबज्र बज्राचार्यले लिच्छविकालीन अभिलेखमा यस्ता बस्तिको नाम पनि उल्लेख गर्नु भएको छ। अहिलेको अनन्तलिंगेश्वर, गुण्डु, सिपाडोल, लेले, सीतापाइला, बलम्बु, थानकोट, दुवाकोट, चांगु,  बुढानीलकण्ठ जस्ता डाँडाहरुमा ठूलो रुपमा बस्ती रहेको थियो। जुन विस्तारै-विस्तारै सर्दै अहिले उपत्यकाको मुख्य भागमा रहेको छ।

यसै अन्तरगत भक्तपुरलाई हेर्ने हो भने भक्तपुरलाई खोपृङ्ग्राम प्रदेश भनेर चिनिन्थ्यो। यस्तै पाटनलाई युपिग्राम र काठमाडौंलाई कोलिग्राम भनेर चिनिने गरिन्थ्यो। यिनिहरु पछि द्रङ् को (व्यापार केन्द्र) रुपमा बिकाश भए। यस्ता द्रङ् अन्तरगत थुप्रै ग्राम वा प्रदेश र तल (टोल) हुन्थे। भक्तपुर पनि बिस्तारै सानो बस्तीबाट ठोलो व्यापारीक केन्द्रको रुपमा परिवर्तन भएको थियो। यसको विकासक्रम हेर्ने हो भनी लिच्छवीकाल भन्दा पहिला यहाँ सानो बस्ती थियो र जब इतिहासको छैठौं शताब्दी आयो तब यो सामान्य बस्तीबाट १००-५०० घर भएको ग्राममा परिणत भयो। र यसै गरी सातौं आठौं शताब्दीमा दङ्ग (ठूलो बजारको) रूप लिन पुग्यो। यसपछि त यो ठाउँको बिकास बढ्दै १३औ शताब्दीमा आइपुग्दा नेपाल मण्डलको नै राजधानीको रुपमा रहेको थियो। यो संगै भक्तपुर कलादेखि राजनीति र सामाजिक रुपमा बलियो भइ नै रहेको थियो। तर यो बिकास र उन्नति गोर्खाको आक्रमण पछि रोकियो। जे होस यसबाट हामिले के बुझ्न सक्छौं भने अरु वरिपरिका बस्तिहरु बिस्तारै बिलाउँदै गए तापनि माखोपृम् द्रङ्ग नामको मुख्य बस्ती भने फैलिँदै र ठूलो हुँदै राजधानीको रुपमा रहेको थियो। ७औ शताब्दीमा अहिलेको च्यामासिंह, तचपाल, गोल्मढी तथा सुकुलढोका क्षेत्रमा रहेको ठाउँ भने बिकाश भयो भने अरु भेग भने लुप्त हुन पुगे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here