भक्तपुमा हराएका दरबारहरू

0
598

नेपालका प्राचिन सहरहरु मध्य भक्तपुर पनि एक हो । भक्तपुरको प्राचिनता, यसकै उत्तर तिर रहेको चाँगुनारायण मन्दिरले झल्काउन्छ। चाँगुनारायण मन्दिर प्राङ्गणमा रहेको बि.स ५२१ को अभिलेखले यो ठाउँको प्राचिनकाल दर्शाउँछ । अझ भक्तपुरको प्राचिनताको बारे केलाउने हो भने किरातकाल सम्म पनि पुग्न सकिन्छ। 

भक्तपुरको प्राचीन  नाम खोप रहेको छ। विभिन्न अभिलेखमा माखोपृङ्ग, खृपिङ्ग, ख्पव जस्ता शब्दहरु परेका छ्न। इतिहासकार धनबज्र बज्राचार्यका अनुसार यो शव्द संस्कृत भाषा नभएर किरात भाषा हो । यसको मतलब हामीले के बुझ्न सक्छौं भने भक्तपुर किराँत काल देखि नै प्रसिद्ध रहिआएको थियो । मध्यकालको सुरुवातमा भक्तपुर पूरा नेपालमण्डलको राजधानी थियो । तर आज हामी यो लेखमा भक्तपुरको बारेमा कुरा नगरी भक्तपुरमा रहेका र अहिलले चाहि हराएका  दरबारको बारेमा कुरा गर्न गरिरहेका छौं । भक्तपुरमा दरबारको कुरा गर्ने हो भने प्राचिनकालमा यहाँ मुख्यतया २ दरबार भएको देखिन्छ। एउटाको नाम त्रिपुर राजदरबार थियो भने अर्कोको नाम युथुनिमम दरवार

त्रिपुर दरवार सुकुलढोकामा थियो भने युथुनिमम हाल रहेको दरवार क्षेत्रमा थियो। भक्तपुरमा २ दरबारको कुरा गर्दा खेरि एउटै राजधानीमा किन दुई दरबार बन्यो भन्ने प्रश्न पनि आउन सक्छ। यसै सन्दर्भमा प्रसिद्ध इतिहासकार धनबज्र वज्राचार्यको अनुसार नेपालको मध्यकालको शुरुवातमा संयुक्त शासण रहेको थियो। देश एउटै भएपनि पालैपालो दुईजनाले संयुक्त शासन गर्दथिए । उक्त समयमा देव नाम भएका लिच्छवि शासक र नयाँ मल्ल धारी शासकहरुले पालै पिलो शासन गर्दथिए ।एकजना राजा हुदा अर्को युवराज हुन्थे भने अर्को युवराज हुदा अर्को राजा। यसरी नै चलिरहेको थियो संयुक्त शासन। त्रिपुर राजदरबारबाट शासन चलदथियो  तर मल्लहरु भने युथुनिमम दरवारमा बस्थे ।

त्रिपुर राजदरबार 

त्रिपुर राजदरबार हाल रहेको दरबारको पूर्वपट्टि भागमा रहेको थियो। गोपालराज वंशावली तथा अभिलेखहरू हेर्दा प्राचीन समयमा लिच्छविकालमा भक्तपुर सहर एक व्यापारिक केन्द्रको रुपमा विकास भएको मानिन्छ। तर यसरी विकास हुँदाहुँदै बिक्रमको १३ औं शताब्दीतिर आइपुग्दा यो नेपालमण्डल अधिराज्य भरिको नै राजधानी बनेको थियो। त्यसै बेलामा राजा आनन्ददेवले यहाँ त्रिपुर राजदरबार बनाई भक्तपुरलाई राजधानी घोषणा गरेका थिए। यो दरबार चनिगल सुकुलढोका क्षेत्रमा अवस्थित रहेको थियो। राजा आनन्ददेवले बनाएको दरवार ७ ताल्लाको रहेको थियो। यो दरबार वास्तुकला केही कैलाशकुट दरबारबाट मिल्दो थियो भन्ने अनुमान गर्न सकिन्छ। गोपालराज बंशावलीमा नरेन्द्रदेवले त्रिपुर दरवार बनाए भनी उल्लेख भएता पनि त्यो छुट्टै दरवार रहेको अनुमान इतिहासकार पुरुशोत्तम लोचन श्रेष्ठको रहेको छ। आनन्ददेव पछि उनका भाइ रुद्र मल्ल र अमृत देवीले पनि यहाँ थुप्रै चोक र शृङ्गारहरु गरेको थिए। उक्त समयमा धेरै आक्रमण हुने भएका कारण सहरलाई सैनिक रुपमा मात्र नभई तान्त्रिक रुपमा पनि रक्षा गर्न अष्टमातृका, अष्टभैरव, अष्टगणेश,  दशमहाविद्याहरूको स्थापना गरेको थियो। यसै सुरक्षा अनुरुप सहरको बीच भागमा त्रिपुरासुन्दरीको स्थापना गरिएको थियो। उक्त त्रिपुरासुन्दरीको विद्यापिठ जुन दरवारको एउटा भाग थियो, त्यो अझ पनि रहिरहेको छ। 

यस त्रिपुर दरबारको उल्लेख गोपालराज वंशावलीमा थुप्रैपटक परेको छ। थुप्रै आक्रमण हुने त्यस समयमा विभिन्न आक्रमणमा परी त्रिपूर दरबार क्षेति हुन्थ्यो र मर्मत पनि चली रहन्थ्यो। विभिन्न वंशावलीहरुमा त्रिपुर दरवारमा आक्रमण भएको कुरा परेको छ। यहाँ शासन गर्ने राजाहरुले यसलाई मर्मत तथा बलियो बनाएका थिए। ७ तल्लाको, वरिपरि खाइरहेको यो दरबार भव्य रहेको थियो। तर समय गएपछि यस दरवारले आफ्नो महत्व गुमाउँदै गयो। यसको अन्तिम रुपमा १५ औं शताब्दीसम्म थियो। संयुक्त शासन भएको त्यस समयमा यस ठाउँबाट देव उपाधि धारीहरुले शासन गर्ने  थिए।

यस त्रिपुर दरवारले आफ्नो महत्व जयस्थिति मल्लको पालामा पछि गुमाएको देखिन्छ। वि सं १४२३ मा देवलादेवीको मृत्युपछि जयस्थिति मल्लले आफु शक्तिशाली हुन अन्य सामन्त तथा भारदारहरुलाई खत्तम पारेका थिए। यसै क्रममा त्रिपूर राजदरबारबाट शाशन गर्ने देव धारी लाई पनि खत्तम पार्नु थियो। त्यसैले उनले जर्याजुनदेवलाई षड्यन्त्र पुर्वक देशबाट निकाला गरे। तर २२ दिन पछि जर्याजुन देव फर्केको थाहा पाए पछि स्थिति मल्लले यहि त्रिपुर दरवारमा नजर बन्द गरि राखे। नजर बन्द भएको एक बर्ष पछि वि. सं १४३८मा जयार्जुनदेवको मृत्यु भयो। उनी झै उनको मृत्युपछि यस दरवारले आफ्नो महत्व साथै इतिहासमा बिलिन हुन पुग्यो। यस समय पछि दरवारको राम्रो हेरचाह र मर्मत नहुँदा यो लुप्त हुन पुग्यो। तर मल्लहरु बस्ने युथुनिमम  राजदरबार भने पछीसम्म पनि रहिरहयो।

युथुनिमम राजदरबार

यो दरवारको उल्लेख  गोपालराज वंशावलीमा थुप्रैपटक भएको पाइन्छ। गोपालराज वंशावलीमा प्रथम पल्ट वि. सं ११३८ मा यसको उल्लेख भएको थियो तर पनि धेरै वर्षसम्म यो दरबार कहाँ थियो भनेर पत्ता लागेको थिएन। तर केही दशक पहिले भक्तपुरको तान्त्रिक शक्तिको अनुशानाधानकर्ताहरुले यस दरवारको पत्ता लगाएका थिए। हाल भक्तपुर दरबार भित्र पर्ने दुमाजु चोक रहेको स्थानमा यो दरबार थियो भन्ने अनुमान गरिएको छ। भक्तपुर दरबारको मूलचोकको पश्चिम पट्टी पोखरी सहितको एक चोक रहेको छ। यसलाई दुमाजु चोक भनिन्छ। यहिबाट नै मल्लहरुले शासन गर्दथिए र जब त्रिपुर दरबारको अस्तित्व सक्किसकेको थियो त्यसबेला पछि पनि यही ठाउँबाट नै राजाहरुले शासन चलाएको पाइन्छ। युथुनिमम नाम कहाँबाट आयो भन्ने सन्दर्भमा इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यो दिशा अनुसारको नाम हो। नेवारीमा दक्षिणलाई येता र पश्चिमलाई यैता भन्ने गरिन्छ। यही नेवारी शब्दको परिवर्तित रुप नै युथु हो। र संस्कृत शब्द निगमको परिवर्तन भई निर्मम भएको हो। समग्रमा भन्नुपर्दा नेवारी र संस्कृत दुबै शब्दबाट अपभ्रंश भई यसको युथुनिमम रहन गएको हो, जस्को नेपालीमा अर्थ हुन्छ पश्चिम पट्टिको निगम घर। 

यो राजदरबार रुद्र मल्लले बनाइएको माने तापनि गोपालराज वंशावलीमा उनी जन्मिनुभन्दा २५ वर्ष पहिला नै यसको उल्लेख भएको पाइन्छ। साथै यस युथुनिमम दरबारको उल्लेख अन्तिम पल्ट जयस्थिति मल्लको पालामा भेट्टिएको छ। सायद देव धारी राजपरिवारलाई पन्छाए पछि उनेले नयाँ दरवार बनाइ बसेका हुनुपर्दछ। हाल यो दरवार नभए ता पनि यसको वरिपरि अन्य दरवार बनेका छ्न।

चौकोट दरवार

भक्तपुर दरबारमा रहेको ९९ चोकहरू मध्य पर्ने भण्डारखाल चोकको भागमा चारवटा किल्ला भएको चौकोट नामको दरबार रहेको थियो। यसको विवरण भने कुमारी चोकमा रहेका केही अभिलेख तथा यही चोकमा भेटेका केही अभिलेखहरूमा पाइएको छ। तथा एक भाषा वंशावलीका अनुसार पृथ्वी नारायण शाहले भक्तपुरमा आक्रमण गर्दा तत्कालीन समयका राजा रणजित मल्ल यसै चौकोट दरबारमा बसेका थिए भनेर लेखिएको छ। गोर्खालीहरुले आक्रमण गर्नु भन्दा अगाडि भक्तपुर शहरलाई किल्लाले सुरक्षित बनाइएको थियो। जब गोर्खाली सेनाहरुले बि.सं १८२६ मा शहरको किल्ला फोडेर भित्र पसे त्यसपछि उनीहरुलाई दरबारको किल्ला फुटाउन धेरै समय लागेको थियो। बाहिर शहरको किल्ला भन्दा दरबारको किल्ला अति नै बलियो थियो। शहरभित्र पसिसके पनि दरबार भित्र छिर्न गोर्खाली सेनाहरुलाई तीन दिन लागेको थियो। अझ दरवार भित्र पसे पनि सबै चोक र ठाउँमा जान सकिँदैन थियो। सानो भएता पनि आर्को चोकमा जान निकै नै गाह्रो हुन्थ्यो। त्यसैले गोर्खालीहरुले चोकको ढोका फुटाउन नसकेपछि उनिहरु छ्तमा चढि आक्रमण गर्न थाले रणजित मल्ल र यहाँ आश्रित अन्य राजाहरु हिटि चोकमा बस्दाखेरि गोर्खालीहरुले छानामा चढेको देखेपछि उनीहरु अग्लो ठाउँको खोजीमा दरबारको अर्को भागमा चौकोट दरबारमा गएर बसेका थिए। यो घटनाले यो दरवार अग्लो थियो भन्ने बुझन सकिन्छ। तर हाल भने यो दरबार अस्तित्वमा रहेको छैन।

बसन्तपुर दरवार

बसन्तपुर दरवार चौकोट दरबारसँगै जोडिएर रहेको ७ तल्ले दरवार थियो। अहिले दक्षिणपट्टि फर्केको एकजोडी सिंह संगै पूर्णचन्डी र भैरव यसको द्वार थियो भन्ने अनुमान गरिएको छ। हाल यो ठाउँमा विद्यालय भएतापनि प्राचीनकालमा यस ठाँउमा बसन्तपुर दरबार रहेको थियो। वंशावलीहरुमा यस दरवार जगत प्रकाश मल्लले बनाउन लगाएका थिए भनिन्छ। धेरै विशाल ठाउँ ओगटेको र अग्लो रहेको य दरवार १९९० सालको भूकम्पमा पुरै ध्वस्त भएको अनुमान गर्न सकिन्छ। १९९० सालको भूकम्प जानुअघि दरबारको अवस्था साह्रै  जीर्ण रहेको थियो। १८९० को भूकम्पमा नै यो नष्ट भएको थियो। 

थंथु दरवार

अर्को हराएको दरवार हो थंथु लायकु। हाल रहेको भक्तपुर पचपन्न झयाले दरबार रहेको पूर्वि भागमा यो दरबार रहेको थियो। यही नेजिक प्राप्त एक शिलालेखअनुसार यो दरबार जितामित्र मल्लले बनाएका थिए। बगैचा, ढुङ्गेधारा भएको यो दरबारको बगैंचा निकै नै ठुलो थियो। अन्य दरबार जस्तै यो दरबारले पनि ठूलो ठाँउ आटेको थियो। पूर्वपट्टि यस दरवारले त्रिपुर दरवारको भागसम्म छोएको थियो भन्ने अनुमान गर्न सकिन्छ। तर हाल भने यताबाट विलुप्त भइ सकेकोले यस्को अन्दाज गर्न मुस्किल छ।

इतिहासको ठूलो कालखण्ड बोकेको यो भक्तपुर शहरमा थुप्रै अरु दरवार पनि बनेका थिए जुन अहिले हाम्रो सामु छैनन्। पुराना दरवार हराउँदै गयो, एक पछिअर्काे शासक आउदै गरे र उनीहरुले आफ्नो कालमा दरवारहरू बनाउँदै गए। तर आफु भन्दा अगाडि राजाले बनाएको चोक तथा संरचनालाई नमासिने गरि त्यसै थपी दरवारहरु बनाउने गर्दथे। त्यसैले हाल पनि भक्तपुरमा दरवार देख्न सकिन्छ। प्राचिनकालमा रहेको दरवारको ठाउँ सम्झने हो भने यो क्षेत्र पूर्वमा सुकुलढोका कालदेखि पश्चिममा खौमासम्म र उत्तरमा व्यासी देखि दक्षिणमा खौमा टौमढी सम्म फैलिएको थियो। आक्रमण र थुप्रै लडाईं हुने त्यस समय तथा इतिहासमा आएका विभिन्न भूकम्प, वर्षा, असिना पानी तथा हिमपातले जिण भएको यस दरबार क्षेत्र समयसमयमा मर्मत तथा हरेक समय संरक्षण गर्नु पर्छ। तर अहिलेको सभ्य समयमा पनि यहाँ रहेका विभिन्न कलाकृति तथा अनमोल भित्तेचित्रहरु दिनदिनै मासिदै गएका छ्न। जसको कारण माथिका दरबारहरु झै यहाँका अन्य कला पनि कहिले बिलाउछ्न हुन्छ थाहा छैन।( लेख ; प्रमोद बस्नेत) 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here