वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो –बिजुक्छे

0
161

काठमाण्डौ, चैत १३ । “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेको हो ।

गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक बन्द–हडताल र छलछाम गर्ने धारण राख्दै बिजुक्छेले तल्लो वर्गका विद्यार्थीहरूले आफ्नो विषयमा जरैबाट ज्ञान हासिल गर्नुपर्ने र विचारमा सशक्त हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । यो व्यवस्था परिवर्तन गर्ने संघर्षका लागि तयार हुन जोड दिँदैे “हामीले आफ्नो कर्तव्य पूरा गरौँ , हार नखाऔँ, आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ ।” विजुुक्छेले उक्त भनाई नेक्राविसंघको राष्ट्रिय भेलामा राख्नु राख्नु भएको हो ।

भेलामा विजुक्छेले नेक्राविसंघका राष्ट्रिय भेलाको सफलताको कामना गर्दै कार्यकर्तालाई आलोचनात्मक छलफल चलाउन निर्देशन समेत दिए ।

कार्यक्रममा नेमकिपा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले कीर्तिपुरमा नेक्राविसंघको विगतबारे सविस्तार चर्चा गरे । विद्यार्थीकालीन आफ्ना अनुभव साझा गर्दै उहाँले नेक्राविसंघले इतिहासका विभिन्न कालखण्डमा ठूला आन्दोलन उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पार्टी स्थापनाको अवसरमा देशका विभिन्न स्थानमा भएका गतिविधि र त्यसमा सर्वसाधरण जनताको अत्यन्त उत्साहप्रद सहभागिताबारे अनुभव सुनाए । थापामगरले भन्नुभयो, “कर्णालीमा महिला र मदिरा पर्यायवाची भएका छन् । मदिरा उत्पादनमा धेरैजसो पूर्व माओवादी महिला लडाकू संलग्न रहेको पाइयो ।” कर्णालीमा अधिकांश महिलाहरू २४–२५ वर्षको उमेरमै आङ खस्ने समस्याबाट पीडित रहेको चर्चा गर्दै त्यस भेगका महिलाहरूको शैक्षिक र स्वास्थ्य स्थिति दर्दनाक रहेको औँल्याए । महिलाहरूको यो दुरावस्थाको लागि आजसम्म सरकारमा गएका सम्पूर्ण राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्ने उहाँले जोड दिए ।

कार्यक्रममा नेक्राविसंघका पूर्व अध्यक्ष सरोजराज गोसाइँले विभिन्न ऐतिहासिक आन्दोलनका क्रममा शासक दलका विद्यार्थी संगठनमा देखिने अवसरवादी प्रवृत्तिको विरुद्ध नेक्राविसंघले निरन्तर संघर्ष गरेको स्मरण गरे । ०४६ र ०६२÷६३ सालका आन्दोलन अरूले सकियो भन्दा नेक्राविसंघले “हाम्रो आन्दोलन जारी छ” भनी नारा लगाएको बताए । अरूले गणतन्त्रको नारा लगाइरहेको बेला नेक्राविसंघले “कस्तो गणतन्त्र ?” भनी समाजवादी गणतन्त्र प्रचार अभियान चलाएको जिकिर समेत गरे । शासक दलका विद्यार्थी संगठनहरूले चिट चोर्न नपाएको बहानामा पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगन गर्नुले विद्यार्थी आन्दोलन कता जाँदै छ भन्ने प्रश्न उठेको उहाँको चिन्ता विषय थियो ।

सभापतिको आसनबाट बोल्दै नेक्राविसंघ अध्यक्ष सबिन ख्याजूले शासक दलहरूले नेपालमा कसरी नवउदारवादी अर्थनीति लागू गर्ने भनी सोचिरहेको बेला नेक्राविसंघले मात्र शिक्षामा नवउदारवादको विरुद्ध संघर्ष गरिरहेको बताए । भेलामा नेक्राविसंघ केन्द्रीय सदस्य गोरख शाही, सचिव रमेश प्रजापतिले पनि बोलेका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा उद्घाटन भएको राष्ट्रिय भेला चैत १४ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here