आजदेखि ‘घटना दर्ता विशेष अभियान’ शुरु

0
345

काठमाडौँ । सरकारले आज देखि ‘घटना दर्ता विशेष अभियान’ शुरु गर्दै छ । सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले व्यक्तिगत घटना दर्तालाई उच्च महत्त्व दिँदै देशव्यापीरुपमा सञ्चालन गर्न लागेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

प्रत्येक वर्ष वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवसको रूपमा र वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएकोमा यस वर्षको घटना दर्तालाई विशेष अभियानका रूपमा वैशाख १ देखि १६ गतेसम्म सबै स्थानीय तहमा सञ्चालन गर्न लागेको सिंहदरवारस्थित विभागमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

विभागले सबै स्थानीय तहलाई वैशाख १ देखि १६ गतेसम्म आ आफ्नो वडा तथा नागरिकलाई लक्षित गरी पायक पर्ने स्थानमा शिविर सञ्चालनमार्फत व्यक्तिगत घटना दर्तालाई अभियानका रूपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहयोग गरेको विभागका निर्देशक शिवराज जोशीले पत्रकारहरूलाई जानकारी गराए ।

शिविरमा व्यक्तिगत घटना दर्ता गर्नेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको निवेदन सङ्कलन र व्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो दर्ता गर्न सकिने पनि निर्देशक जोशीको भनाई छ ।

देशभरका ६ हजार सात सय ४३ वटै वडा कार्यालय तथा स्थानीय तहले तोकेको स्थानमा अभियान सञ्चालन हुने विभागका निर्देशक युवराज कटेलले बताए । ‘स्थानीय तहले नागरिकलाई पायक पर्ने वडाभन्दा कम्तीमा तीन वटा फरक स्थानमा सञ्चालन गर्नुपर्नेछ’ निर्देशक कटेलले भने ।

विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सरकारले सञ्चालन गर्न गइरहेको अभियान सफल बनाउन सञ्चारमाध्यमको ठुलो भूमिका रहेको बताउँदै आम नागरिकले सही समयमा सूचना प्राप्त गरेको अवस्थामा मात्रै उल्लेख्य सहभागिता रहने र सरकारको अभियान सफल हुने बताए ।

घटना दर्ताले जनसङ्ख्याको गतिशीलता र स्ट्याटस परिवर्तनलाईसमेत बुझाउने भएकोले यसलाई महत्त्वका साथ हेरेको महानिर्देशक बस्नेतले बताए । ‘नागरिक र राज्य दुबैका लागि घटना दर्ता महत्त्वपूर्ण छ, महानिर्देशक बस्नेतले भने, ‘नागरिकलाई घटना दर्ता गर्दा राज्यबाट उपलब्ध हुने सेवा सुविधा लिन सहज हुन्छ र राज्यलाई नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन र विकास योजनाहरू तय गर्न मद्दत गर्छ ।’

२०७२ साल चैत्र १३ गतेदेखि काठमाडौँ महानगरपालिकाको वडा नं. १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुचारु गरेको विभागले हाल देशभरका ६ हजार सात सय ४३ वडामध्ये ४ हजार दुई सय ९६ वडामा अनलाइनमार्फत घटना दर्ता गरिरहेको छ ।

स्थानीय तहमार्फत अनलाइन व्यक्तिगत घटना दर्तालाई तीव्रता दिन प्राविधिक तथा सफ्टवेयर प्रणाली सञ्चालन गर्दै आएको विभागले २०७६र०७७ मा तीन हजार तीन सय वडाहरूमा अनलाइन प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, स्क्यानर, प्रिन्टर सफ्टवेयरलगायतका सामाग्री खरिदका लागि स्रोत उपलब्ध गराउँदै आएको विभागले जनाएको छ ।

नागरिकको व्यक्तिगत घटना दर्ताका अभिलेख प्रत्यक्ष रूपमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित रहेकोले यो आवश्यक र अनिवार्य विषयका रूपमा नागरिकलाई सूचित गरिएको छ । सरकारले जैविक विवरणसहित जारी गर्ने राष्ट्रिय परिचयपत्रका लागि जन्म दर्ता अनिवार्य रहेको छ ।

पञ्जीकरण(व्यक्तिगत घटना दर्ता) कार्यक्रमको व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता कार्यक्रमको व्यवस्थापन तथा राष्ट्रिय परिचय पत्रको व्यवस्थापन जस्ता महत्त्वपूर्ण जिम्मेवारी विभागले सम्हाल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here