सास थुनिएको नेपालगञ्जबाट अन्तिम चिट्ठी

0
212

मेरा प्यारा,

भेरी अस्पतालको कोभिड वार्डबाट यो चिट्ठी लेखिरहेको छु । थाहा छैन, कुन सास अन्तिम हुने हो ? अक्सिजनको पाइपबाट आइरहेको चिसो हावाको कुन झोँका अन्तिम हुने हो ? अक्सिजनको साह्रै कमी छ भन्ने सुन्छु । कहिले अक्सिजन सकिनुअघि नै जोडजोडले सास फेरेर फोक्सो भरेँ भने बाँच्छु किजस्तो लाग्छ ।

कहिले विस्तारैविस्तारै सास फेरेँ भने अक्सिजन जोगिन्छ, अनि म बाँच्छु किजस्तो लाग्छ । के हुन्छ, केही थाहा छैन । मिनेट-मिनेट सास गन्दै काल कुर्नुबाहेक केही काम छैन । यो अत्यासलाग्दो वार्डबाट सास फेर्न संघर्ष गर्दै मृत्युको भयमा सास गनिरहेका बिरामीहरूको बीचबाट यो चिट्ठी लेख्दै छु ।

म मरेँ भने मसँगै यो चिट्ठी नजलाइदिनू है । मेरो श्राद्ध बरु नगर्नू तर कहिलेकाहीँ मलाई सम्झेर यो चिट्ठी पढिदिनू ।

पहाडमा सबथोक थियो तर अस्पताल, स्कुल र बाटो छैन भनेर म मधेस झरेँ । त्यसपछि म कहिल्यै नेपालगञ्ज छाडेर पहाड र हिमाल उक्लिन सकिनँ । मैले सडक पाएँ, थरीथरी स्कुल पाएँ, अस्पताल पाएँ । तिमीहरूलाई थाहा छ, मैले पाएका सबथोकको बदलामा एक मात्र चीज गुमाएको रहेछु– आनन्द ।

पहाडबाट झरेपछि आफन्तहरू गुमाएँ, दौँतरीहरू गुमाएँ, छिमेकी गुमाएँ । आज शून्य मनले हेर्दै छु । मैले त खुब मेसिनहरू कमाएछु । आज यतिका दिन अस्पतालमा मेरो वरिपरि मेसिनहरूको एकोहोरो आवाजबाहेक कुनै परिचित आवाज छैन । मसँग मबाहेक कोही छैन ।

जंगलमा काफल टिप्न जाँदा, स्याउला बटुल्न जाँदा, बाख्रा चराउन जाँदा, च्याउ टिप्न जाँदा फर्केर आउने बेला थकाइ मार्ने गाउँनिरको सल्लेरी सम्झन्छु । ठाँटीनिरको पीपलको चौतारो सम्झन्छु । बुढाहरू चौतारोमा दिनभर बाघचाल खेलेर कसरी आनन्द मान्दै साँझ घर फर्कन्छन् होला भन्ने सोच्थेँ । आज पाइपबाट बहिरहेको हावाको मूल्य थाहा पाएपछि सल्लेरी र चौताराहरू खुब याद आइरहेछन् ।

यहाँ सबथोक छ । मोबाइलमा सबै हेर्न पाइन्छ । अक्सिजन छैन भनेर हाहाकार गरेको, अक्सिजन ट्याङ्कको धरहरा ठडियो भनेर हल्ला गरेको, ट्याङ्क आयो भनेर हल्ला गरेको, आइसोलेसन उद्घाटन गरेको, बैंकहरू बनाएको, सरकार बनेको सबै । बस् कुरा यत्ति हो, त्यस्ता खबरहरूको क्रम भने मिलाएर आफैँ बुझ्नुपर्छ ।

अक्सिजन आयो भनेर बाँच्ने आशा गर्दा अक्सिजनको भाँडो आएको हुन्छ । ठडियो भनेर केही थान मान्छेहरूको हल्लाले देश रङ्गाएको बेला त्यो ढलेको हुन्छ । यहाँ मान्छेको सास फगत सामाजिक सञ्जालका सेल्फीहरूको बीचमा रहने झिनो आशा तारमा झुण्डिएको हुन्छ । यो नक्कली मान्छेहरूको शहर रहेछ । प्रदर्शनकारीहरूको शहर । मायामा प्रदर्शन, सेवामा प्रदर्शन, दानमा प्रदर्शन, उद्घाटनमा प्रदर्शन, समाचारमा प्रदर्शन, मृत्युमा प्रदर्शन, जलाउँदा प्रदर्शन, श्रद्धाञ्जलिको हतारोमा प्रदर्शन । यहाँ के छ प्रदर्शनरहित ?

अन्तिममा, यो सास थुनिएको मान्छेको बिन्ती मानिदिनू– गाउँलाई कहिल्यै नबिर्सनू । पहाड र हिमाललाई कहिल्यै नबिर्सनू । आफ्नो बिर्सिएको थातथलोमा पुगिरहनू । वरपीपलको चौतारो बनाउनू । पहाडको शीतल हावाले बोलाएको आवाज हृदयले सुन्नू । हावाले पनि बोल्दो रहेछ ।

प्रत्येक रात पाइपबाट एकनास बहेको हावाको आवाज झन्‌झन् डरलाग्दो सुनिन्छ । रातको अन्तिम प्रहरतिर जब सबै थकाइले आँखा झप्काउँछन्, जब वार्डमा गहन सन्नाटा हुन्छ, तब लाग्छ– ढोकामा ठडिएको छ नदेखिने अजङ्गको काल । सायद कोही नभएको मौका छोपेर ऊ मुस्काउँदै कोठामा छिर्छ र अक्सिजनको पाइप थुनिदिन्छ । र, यही सन्नाटामा प्रत्येक दिन दर्जनौँ जीवन सास फेर्न बिर्सिएर निष्प्राण हुन्छन् । म हरेक रात जाग्राम रहेर बिताउँछु । कालको सूचीमा मेरो नाम कहाँनिर लेखेको छ थाहा छैन ।

मलाई अब कुनै समाचारले खुसी र दु:खी बनाउँदैन । मलाई कुनै प्रदर्शनकारी या गुप्त नेता, अभिनेता, अभियन्ता कसैप्रति कुनै आग्रह र द्वेष छैन । मलाई अब सासको आशा र निराशा दुवै छैन । न खोपको प्रतीक्षा छ । मलाई यत्ति थाहा छ, यो शहरमा स्वस्थ श्वास छैन । न लिने श्वास स्वस्थ छ, न फाल्ने श्वास । यहाँका साह्रै प्रसिद्ध मान्छेले फेर्ने श्वास पनि अस्वस्थकर छन् । हजार प्रदर्शनहरू छिचोल्दै म सुतेको बेडसम्म कहिले अक्सिजन र खोप पुग्ने हो, त्यसको अब मलाई कुनै चाह छैन । मेरो शरीर मर्ला तर मेरो मन पूर्ण रूपमा स्वस्थ भइसक्यो । मलाई अब कुनै प्रदर्शन, कमिसन, मिसनका दृश्यहरूले छुँदैनन् । सायद यसैलाई मोक्ष भन्छन् ।

मेरो लासलाई कुनै सलामी नदिनू । दाउराका लागि सरकारी कुपन लिन नजानू ।

अन्तिममा, मृत्युशय्याबाट बोलिरहेको एक शुचिन्तकको सुझाव मान्छौ भने भन्छु । तिमीलाई गाह्रो त धेरै होला । हरेक महामारीमा याद आउने र महामारी सकिनेबित्तिकै बिर्सिने यो सत्य तिमी पनि सायद छिट्टै बिर्सिहालौला । यो सास थुनिएको मान्छेको बिन्ती मानिदिनू– गाउँलाई कहिल्यै नबिर्सनू । पहाड र हिमाललाई कहिल्यै नबिर्सनू । आफ्नो बिर्सिएको थातथलोमा पुगिरहनू । वरपीपलको चौतारो बनाउनू । पहाडको शीतल हावाले बोलाएको आवाज हृदयले सुन्नू । हावाले पनि बोल्दो रहेछ ।

अझ मान्छौँ ? हावाले मात्र बोल्दो रहेछ । बाँकी सब तामझाम व्यर्थ छन् । हावाको स्वर मैले सुनिरहेको छु निरन्तर । आशा गर्छु– तिमी युगौँयुग हावाको गीत सुनेर बाँच्नू । मजस्तो असहाय भएर, बेडमा पाइपबाट बगिरहेको हावाको कर्कश चेतावनी सुनेर, मृत्युको पल गनेर बाँच्ने होइन ।

उही तिम्रो,
साँच्चैको भलो चाहने आफन्त

(शिलापत्रबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here