आफ्नो परम्परागत पेशा छोडेर चिया बेच्दै रामप्रसाद प्रजापति

0
947

भक्तपुर २५ असार २०७८ ,शुक्रबार । चिया नेपाली परिवेशमा जो कोहिका लागि परिचित छ । बिहान देखि बेलुका सम्मको लागि यो एक प्रकारको नभइ नहुँने पेयपदार्थ भइसक्यो । साथीभाइ भेट हुँदा होस् , घरमा आफ्न्त आउँदा किन नहोस् चिया साथी जस्तै भइसकेको छ । अहिले ठाउँ परिवेश र उमेर समुहको आ-आफ्नो रुचि अनुसार चिया पिउने गरिन्छ ।

कोरोनाको कहर । मनमा डर ,परिवार प्रति जिम्मेवारी । त्यहि छ बाध्यता । हो यस्तै दिनहरु बीच भक्तपुरको रैथाने प्रजापतिको दिन पनि त्यस्तै छ । भक्तपुरको च्यामासिंहको व्यस्त स्थानमा एउटा सानो चिया पसल छ राम  प्रसाद प्रजापतिको । उक्त कमन क्याफे आफ्नो छोराको नामले संञ्चालन गर्दै आइरहेको छ । एक पटकमा करिब २५ जना जति बस्न मिल्ने चिया पसल । त्यहि चिया पसलबाट सुरु हुन्छ राम प्रसाद प्रजापतिको दिनचर्या ।

राम प्रसाद झिस्मिसे विहानसंगै पसल पुग्छन । पसल सफा गर्छन र ग्यास चुल्होमा ताप्के बसाल्दै चिया बनाउन थाल्छन । विहानदेखि चिया खानेको भिड लाग्छ । चोकैमा पसल भएर हो कि मिठो स्वाद, मानिसको भिड त्यतिकै देख्न सकिन्छ ।

रामप्रसाद प्रजापति उमेर सायद ४५ बर्ष । उनले चिया बेचेको धेरै भएको छैन, करिब ५ बर्ष मात्र भयो । कोरोना सुरु नहुँदा उनले एक दिनमा करिब ६० पाकेट दुधको चिया र केहि बेकरी सामानहरु बेचेर मासिक ७० हजार सम्म कमाइ गरेको राम प्रसादले बताए । कलेजका विद्यार्थीहरु आउँदा राम प्रसादलाई भ्याइनभ्याइ हुन्छ। उनले भने, ” यति व्यस्त हुन्छु एक्लो ज्यानले नभ्याएर छोरा श्रीमती समेतलाई यहि व्यवसायमा सामेल गरेको छु ।”

राम प्रसाद प्रजापति पेशाले माटोको भाडा बनाउने । उनको पुर्खाले माटोको भाडा बनाएर नै जीवन चलाएको प्रजापतिले सुनाए । उनका एक छोरा दुई छोरीहरुलाई माटोको काम गरेर नै हुँर्काएको उनले बताए ।

आफ्ना छोरा छोरीलाई बोर्डिङ स्कुलमा पढाएर अहिले छोरी स्नातकोत्तरसम्म अध्ययन गरेर बोर्डिङ स्कुलमा नै पढाउँछिन ,कान्छि छोरी नर्स पढेर अहिले भक्तपुरकै एउटा अस्पतालमा काम गरिरहेकि छन् भने छोरा स्नातक अध्ययन गर्दै छन ।  अहिले भने छोराले पनि बुवाको काममा सहयोग गर्दै आइरहेको छन । आफ्नै परम्परागत पेशालाई निरन्तरता दिन नसकेकोमा भने उनलाई दुख लागेको छ ।

उनले भने कि माटोको भाडा बनाउदा उनलाई गर्ब लाग्छ अहिले चिया बेच्दा भने त्यति लाग्दैन । सुरुमा यहीँ चिया पसल अगाडीनै उनको माटाको भाडा बनाउने कारखाना  थियो। विस्तारै विकासले फड्को मार्यो र बाटो फराकिलो भयो र उनीहरू यस ठाउँबाट विस्तापित हुन पुगे । “पछि लिबालीमा कारखाना खोल्यौं त्यहाँ पनि नगरपालिकाले प्यालिङ गर्यो ।” उनले भने । त्यस पछि कारखाना राख्ने स्थान नपाएर पछि चिया पसल खोल्न परेको राम प्रसादले बताए । “अहिले त माटो पनि पाउन गाह्रो छ रे त्यहि भएर अब चिया बेचेर हिजोको कुरा भुलाउदै छु” उनको भनाइ छ ।

आफ्नै ठाउँ पायो भने अझै माटोकै काम गर्न मन लागेको प्रजापतिले बताए । अहिले चिया बेचेर धेरै मान्छे चिन्न पाएको उनको बुझाइ छ । आफ्नो छोरा र श्रीमतिलाई समेत सामेल गरी चिया बेचेर राम्रै कमाइ भैरहेतापनि परम्परागत काम छोड्नुपर्दा भने उनी खिन्न देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here