तुइनबाट तर्नेको नुन–तेल पनि खोस्छन् एसएसबी

0
63
फाइल

दार्चुला  ।  महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई भारतीय सशस्त्र सीमा बलले बराबर सास्ती दिन्छन् ।

‘हाम्रा लागि तुइन तर्नु बाध्यता छ,’ व्यास गाउँपालिका–३ का जयसिह कुँवर भन्छन्, ‘गाउँमा सुविधा छैन । आफ्नै जिल्ला सदरमुकाम जानसमेत बाटोघाटो छैन । धेरै कुरामा भारतमा निर्भर भएकाले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार र कुटपिट सहनुपरेको छ ।’ वारिपारि गर्ने नेपालीलाई भारतीय सुरक्षाकर्मीले बेलाबेलामा दुःख दिने गरेको उनले बताए ।

दार्चुलाको उत्तरपश्चिमी क्षेत्र व्यास गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तु किनमेलदेखि उपचार, मजदुरी र जिल्ला सदरमुकामसम्म पुग्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्छ । एसएसबीले कहिलेकाहीँ त त्यत्तिकै निहुँ खोजेर कुटपिट गर्ने गरेको व्यासका बासिन्दा बताउँछन् । सीमा क्षेत्रमा आउने गस्तीबाट नेपालीले सधैं दुःख पाइरहेका हुन्छन् । मान्छे तरेको देख्दादेख्दै तुइन फुकालिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाले स्थानीय स्तब्ध छन् ।

भारतीय बजार तवाघाट र धारचुलाबाट घरायसी सामान खरिद गरेर ल्याउँदा एसएसबीका जवानले दुर्व्यवहार गर्छन् । ‘कहिलेकाहीँ चिनी, दाल किनेर ल्याउँदा पनि गालीगलौज र कुटपिट गर्छन्,’ कुँवरले भने, ‘बोल्न नसक्नेलाई त झनै दुःख दिने गरेका छन् ।’

गत वर्ष व्यास–२ मालघाटकै धनसिंह धामीको करिब ६० हजार बराबरको सामान एसएसबीले फिर्ता दिएन । ‘सामान तारिराखेको अवस्थामा बीच तुइनबाट फर्काएर माथि लगेको थियो । त्यसपछि उनको सामान कहाँ गयो, पत्तै भएन । एक महिनासम्म धनसिंहले सामान छुट्याउन कोसिस गरे पनि पाएनन्,’ स्थानीय धरमसिंह धामीले भने, ‘गाउँलेको नुन–तेल पनि समात्छन् । कुनै बेला व्यापारीको सामान भने तुइनमा आउन दिन्छन् ।’ दुर्व्यवहार घटना पटक–पटक हुँदै आउनु सामान्य जस्तै भएको धामीको भनाइ छ । काठमाडौं वा मुलुकका अन्य भागमा सीमासम्बन्धी कुनै बहस वा छलफल हुन थाले यहाँ सुरक्षाकर्मीबाट झनै दुःख पाइने गरेको स्थानीय बताउँछन् ।

महाकालीमा तुइनबाट वारिपारि गर्नेहरू खलंगाभन्दा माथिल्लो क्षेत्रका बासिन्दा छन् । व्यास–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल छ । तर पैदल दूरी धेरै पर्ने हुँदा जोखिम मोलेर स्थानीय तुइनबाटै वारिपारि गर्छन् । धौलाकोटभन्दा माथिल्लो भेगका बासिन्दा सबैजसो छिटोका लागि तुइनबाट भारतीय बाटो प्रयोग गरेर खलंगा आउजाउ गर्छन् । सुन्सेराबाट खलंगा पुग्न ९/१० घण्टा लाग्छ । तुइनबाट भारत हुँदै गए तीन घण्टामै पुगिन्छ । तुइनबाट महाकाली तरे गाडीमा चढेर खलंगा पुग्न छिटो हुने भएकाले भारतीय बाटो प्रयोग गर्नु बाध्यता रहेको व्यास–५ का हरकसिंह धामीले बताए ।

व्यास–४ का कमलापति भट्टका अनुसार तुइन पहिलेदेखि महाकालीमा लगाइन्थ्यो । पहिले घाँसको डोरी बनाएर तुइन लगाउँथे, अहिले ग्याबिन तारको लगाउँछन् । अहिले केही ठाउँमा तुइनमा डिब्बा राखेर तर्दा पहिलेका तुलनामा सजिलो पनि भएको छ । तुइन सदरमुकाम छिटो पुग्न मात्र नभएर भारतमा रोजगरी गर्न आउजाउ गर्नेहरूले प्रयोग गरेका छन् । तर यस्ता तुइन कुन बेला एसएसबीले पारिबाट फुकालेर महाकालीमा खसाल्छन् भन्ने टुंगो हुँदैन । त्यसैले वारिपारि गर्नेहरूलाई तुइनबाट नदीमा खस्नेभन्दा पनि आफू वारपार गरिरहेका बेला एसएसबीले लट्ठा फुकाल्लान् भन्ने डर हुन्छ ।

गत शुक्रबार एसएसबीले तुइन फुकालिदिएपछि महाकालीमा खसेर बेपत्ता ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । व्यास–३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले उक्त घटनाबाट स्थानीयमा त्रास रहेको बताए । उनले भने, ‘जयसिंहका आफन्तले भारतकै पागला प्रहरी चौकीमा तुइन काट्ने एसएसबीविरुद्ध निवेदन दिएका छन् । तुइन काट्ने दुवै जना एसएसबीका सुरक्षाकर्मीलाई अन्यत्रै पठाइएको जानकारी पाएको छु ।’

व्यास गाउँपालिकाका तर्फबाट प्रवक्ता धीरन बुढाथोकीले धारणा सार्वजनिक गर्दै नदी तरिरहेकै बेला तुइन काटेर सीमामा निर्दोष व्यक्तिको हत्या गरिनु अन्तर्राष्ट्रिय फौजदारी अपराध भएको बताए । भारतमाथिको निर्भरता घटाउन दार्चुला–टिंकर सडक निर्माण कार्य र ठेक्का भइसकेको मलघट्टे र मालघाट झोलुंगे पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न गाउँपालिकाले माग गरेको छ । यसैबीच शुक्रबार बेपत्ता जयसिंहको पत्ता नलागेकाले मृत्यु भएको ठान्दै आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here