भक्तपुर काण्ड राज्यस्तरबाट रचिएको षड्यन्त्र

0
241

विसं २०४५ भदौ ५ गते बिहान ५ बजे र ५ मिनेटमा भूकम्प गयो । भूकम्पले धनजनको क्षति पुर्‍यायो । भूकम्पकै दिन भक्तपुर नगर पञ्चायतका प्रधानपञ्च आशाकाजी बासुकलाको अध्यक्षतामा भूकम्प पीडित सहयोग समिति गठन भयो र समितिले तत्काल रू २ लाखको आर्थिक सहयोग गर्ने निर्णय गर्‍यो ।

तत्कालीन श्री ५ को सरकारले भदौ ६ गते प्रम मरिचमान सिंह श्रेष्ठको अध्यक्षतामा केन्द्रीय भूकम्प उद्धार तथा पुनस्र्थापना कोष गठन गर्‍यो । यसरी नै भक्तपुर जिल्ला पञ्चायतले पनि जिल्ला भूकम्प पीडित उद्धार समिति गठन गर्‍यो । उक्त कुनै पनि समितिमा कर्णप्रसाद ह्योजू सदस्य थिएनन् । कुनै पनि समितिमा नरहेको ह्योजूलाई काठमाडौँको खाद्य किराना समितिको नाउँमा राहत सामग्री वितरण गराइयो । राहत सामग्री वितरणको लागि कुपनको व्यवस्था गरियो । कुपन वितरणमा ह्योजूले पक्षपात गरे । क्षति हुनेले कुपन पाएनन् भने क्षति नहुनेले कुपन पाए र राहत सामग्री लगे । कुनै पनि समितिमा नरहेको ह्योजूलाई राहत वितरण गराउनमा प्रम मरिचमान सिंह श्रेष्ठ र पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष नवराज सुवेदीको हात रहेको जानकारीमा आयो । राहत वितरणमा पक्षपात गरेकै कारण पीडित जनता आक्रोशित भए र राहत वितरणमा पक्षपात गर्न पाइँदैन भनी जनताले आवाज उठाए । तर, राहत वितरक ह्योजूले वास्ता गरेनन् । फलतः उनलाई समातेर नगर परिक्रमा गरियो ।

नगर परिक्रमा गर्दा अपरिचित र उच्छृङ्खल युवाहरू पनि थिए । उनीहरूले ह्योजूमाथि मुक्का प्रहार गरे । उनीहरूको मुक्काबाट उपस्थित मानिसहरूले जोगाउन खोजेका थिए । ह्योजूलाई जोगाउन खोज्ने कति मान्छे आफैं घाइते भए । नगर परिक्रमाकै क्रममा साकोठा पुगेपछि प्रहरी भ्यान आइपुग्यो र ह्योजूलाई गाडीमा राखी लगियो । वीर अस्पताल लगियो र राति ११ः४५ बजे ह्योजूको निधन भएको समाचार बाहिर आयो ।

भदौ ९ गतेकै राति ११ः३० बजेतिर तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई पक्राउ गरियो । त्यसलगत्तै राष्ट्रिय पञ्चायत सदस्य गोविन्द दुवाल, भक्तपुर नगर पञ्चायतका प्रधानपञ्च आशाकाजी बासुकला, ज्ञानबहादुर न्याइच्याई, सुनिल प्रजापतिलगायत २४ जनालाई पक्राउ गरियो । यसरी नै भदौ १० गते ३२ जना, भदौ ११ गते ४ जना, भदौ १२ गते ४ जना, भदौ १३ गते १५ जना, भदौ १५ गते ६ जना, भदौ १६ गते ११ जना पक्राउमा परे । पक्राउ गर्ने क्रम जारी रह्यो ।

भदौ १७ गते ४ जना, भदौ १९ गते १२ जना, भदौ २० गते ४ जना, भदौ २१ गते एक जना, भदौ २२ गते दुईजना पक्राउ गरिएको थियो । यसबीचमा भदौ २० गते पार्टी अध्यक्ष रोहितको घरबाट पुस्तक तथा अन्य महत्वपूर्ण ग्रन्थहरू प्रहरीले लगे । भदौ २३ गते भक्तपुर नगर पञ्चायत विघटन गरियो । सोही दिन ४ जना पक्राउमा परेका थिए । यसरी नै भक्तपुरका विभिन्न गाउँ र ठाउँमा पनि खानतलासी लिने, पक्राउ गर्ने, तर्साउने काम भयो । त्यो समयमा प्रहरी आतङ्क र गुन्डाहरूको राज हेर्दा जङ्गली राजजस्तो थियो । एकपछि अर्को ठाउँ, बस्ती र घरमा खानतलासी लिने, पक्राउ गर्ने, तोडफोड गर्ने, ‘ज्यानमारा’ हरूलाई बाँकी राख्दैन भन्ने प्रहरी र गुन्डाहरूको त्रासले गर्दा बुढाबुढी र बालबालिकाबाहेक कोही प्रवास गए, कोही जिल्ला बाहिर गए । कोहीले बारीमा त कोहीले झाडीमा लुकेर दिन बिताए ।

यसरी आतङ्क मच्चाइरहेको बेला पञ्चायती गुन्डाहरू सक्रिय भए । उनीहरूले टोल–टोलमा सभा राख्न थाले । वक्ताहरूले अपराधीलाई २० वर्ष जेल राख्ने, सर्वस्वहरण गर्ने हल्ला फैलाए । ‘अपराधी’ होइन भने किन भाग्नुपर्‍यो भनी धाक रवाफ देखाउन थाले । पक्राउ गर्ने क्रम चैत–वैशाखसम्म पनि कायम रह्यो । असोज १ गते शनिबारको दिन हनुमानघाटमा सरजमिन गरियो । सार्वजनिक बिदाको दिन सरजमिन गर्न नहुने कानुनविद्हरूको राय रह्यो । तर सरजमिन रोकिएन । सरजमिन गर्न चारैतिर सुरक्षाकर्मीले घेरा हालेका थिए । सरजमिन एकतर्फीरूपमा गर्न खोजियो । सहभागी महिलाहरूले एकतर्फी र पक्षपातपूर्ण सरजमिन गर्न पाइँदैन भनी नारा लगाए । सरजमिनमा प्रतिवादीले बोलेका कुरा नलेखी अर्कै कुरा लेखियो । वादी पक्षको बयान टाइप गरिएको थियो अर्थात् पूर्वतयारी थियो । यसरी सरजमिन पक्षपातपूर्ण भएको हुँदा पक्षपातपूर्ण सरजमिन स्वीकार्य छैन भनी महिलाहरूले जुलुस गरे । सरकारी षड्यन्त्रको विरोधमा असोज २५ गते (घटस्थापना) मा महिलाले बत्ती बाल्ने निहुँमा मौन जुलुस गरे । मंसिर २० गते न्याय पाउन झन्डै ८ हजार नगरवासीले सरकारसक्षम निवेदन राखे । पुस २२ गते पहिलोपटक जुलुस भयो । उक्त जुलुस गोल्मढीदेखि तेखापुखुसम्म भएको थियो । त्यसपछि ठाउँ–ठाउँमा कोणसभा, छड्के जुलुस हुनथाल्यो । फागुन २० गते निकोसेरामा मसाल जुलुस भयो । चैत ८ गते पञ्चायती राज्यस्तरको षड्यन्त्रविरूद्ध पोस्टर टाँस्ने काम भयो । चैत १९ र २९ गते भित्तेलेखन कार्यक्रम भयो । चैत २९ गते बोडेमा सांस्कृतिक कार्यक्रम भयो । सो कार्यक्रमबाट स्थानीय युवाहरू पक्राउमा परे ।

२०४५ कार्तिक १५ गते बाग्मती विशेष अदालतका अध्यक्ष गोपालप्रसाद खत्रीसमेतको इजलासले १७ जनालाई थुनामा राखी कारबाही गर्ने र ५ जनालाई जनही रू २ हजार धरौटी राखी छाड्ने आदेश दिएको थियो । त्यसबेला थुनामा नारायणमान बिजुक्छेँ (रोहित), गोविन्द दुवाल, आशाकाजी बासुकला, ज्ञानबहादुर न्याइच्याई, सुनिल प्रजापति, श्रीकृष्ण किसी आदि हुनुहुन्थ्यो । चन्द्रबहादुर उलकदेखि सत्यनारायण बजिक्व आदि फरारमा रहेको बताइएको थियो । उक्त षड्यन्त्रमा ६७ जना नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूलाई मुद्दा राखियो । मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार १३ ‘क’ मा सर्वस्वसहित जन्मकैद वा मृत्युदण्ड, १६ नम्बरमा १० वर्षदेखि १५ वर्षसम्म कैद र १७ ,२० मा ५ वर्षको कैदको माग गरिएको थियो । मुद्दामा १३ ‘क’ मा ४६ जना, १३ ‘क’ र १६ मा ७ जना र १७ ,२० मा १४ जनालाई सजाय माग गरिएको थियो ।

बाहिर बसेका साथीहरू लुकिछिपी साथीहरूसँग भेट्थे । बाहिर गतिविधिबारे जानकारी दिन्थे । सूचना प्रवाह गर्ने, जेलमा रहेका नेता तथा कार्यकर्ताहरूसँग भेट्ने, खानेकुरा पुर्‍याउने, कोणसभा र छड्के जुलुस गर्ने, पत्रकार र वकिलहरूसँग भेट्ने, राय सल्लाह लिने काम भयो । पञ्चहरू ह्योजू काण्डका ‘दोषी’को नाम सूचीमा परेका साथीहरूको घर–घरमा पुग्थे, ज्यान जोगाउने भए नेमकिपा छोड्न र आत्मसमर्पण गर्न दबाब दिन्थे । रोहितको विरोध गरे, पार्टी त्यागे कैदमुक्त गर्ने या मुद्दा नलाग्ने आश्वासन दिएर फसाउन खोज्थे । कतिलाई उक्त घटना नेमकिपाले घटाएको हो भनी सही गराउन, अपिल निकाल्न दबाब दिन्थे । पञ्चहरूको यस्तै दबाबको कारण कति कार्यकर्ताहरूले पार्टी त्यागे, कतिले आत्मसमर्पण गरे, कतिले जनसभा नै राखेर पञ्चायतको गुणगान गाए ।

पञ्चहरू रात–रातभरसम्म क–कसलाई मुद्दा लगाउने हो, सूची तयार गर्थे । मुद्दा लगाउनेको सूची दिनदिनै बढ्थ्यो । त्यसबेला मुद्दा हाल्न २ सत्न्दा बढीको सूची तयार भएको हल्ला थियो । नेमकिपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूलाई पक्राउ गराउन पञ्चहरू राति राति सीआईडीलाई घर देखाउँथे । भोलिपल्ट पक्राउ गर्थे । प्रहरीहरूले घरमा पस्दा झ्याल–ढोकामात्र होइन, सन्दुकसमेत फोडे । यसरी भक्तपुरमा राज्य आतङ्क फैलाइयो । त्यसरी नै अन्य जिल्लामा पनि पञ्चायती प्रहरीले धेरै दुःख दिए ।

पक्राउमा परेकाहरू नेता, कार्यकर्तामात्र होइनन्, सर्वसाधारण पनि धेरै परे । कोही गोसाइकुण्डबाट फर्केर राति सुत्न नपाएका सर्वसाधारण पनि पक्राउमा परे । कोही घर भत्केर विद्यालय भवनमा सुतिरहेका त कोही नाचगानमा भोजको लागि पाटीमा राँगो कुरेर बसेका सर्वसाधारण पनि पक्राउमा परे । जुलुसमा कहिल्यै नदेख्ने सर्वसाधारण पनि पक्राउमा परे र मुद्दामा मुछिइए ।

भदौ १० गते ह्योजूको शव र्‍याली गरियो । शव र्‍यालीमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ सामेल भए । र्‍यालीमा ‘रोहितलाई फाँसी दे’ को नारा लगाइएको थियो । अदालतमा मुद्दा दायर नहुँदै या दोषीको प्रक्रिया अघि नबढ्दै प्रम सिंहसमेत सहभागी भएको र्‍यालीमा ‘फाँसी दे’ को माग गर्नु के न्यायोचित हो ? यी सबै घटनाले ‘भक्तपुर काण्ड’ राज्यस्तरबाट रचिएको षड्यन्त्र हो भन्ने थाहा हुन्छ । – मजदुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here