षड्यन्त्रको एक घटनाः भक्तपुर काण्ड

0
67

पञ्चायती सरकारले षड्यन्त्र गरी एक मान्छेलाई बलिको बोको बनाएर सरकारविरोधी एक दल नेमकिपाका नेता कार्यकर्ताहरूलाई बीस महिनासम्म निर्मम दमन गरेको घटना हो भक्तपुर काण्ड । नेमकिपाका कार्यकर्ताहरूले पञ्चायती व्यवस्थाभित्र गएर देश र जनताको सेवा गर्ने कार्य लेनिनवादी नीतिअनुसार गरिरहेका थिए । नेमकिपाले जनताको उम्मेदवार चुनावमा उठाउने र जनताका शत्रुलाई सजिलै जित्न नदिने नीति लियो । नेमकिपाले भक्तपुरमा पनि संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा भाग लियो । संसदीय निर्वाचनमा २०३८ र २०४३ सालमा भक्तपुरबाट नेमकिपाका उम्मेदवारले विजय हासिल गरे । २०३९ र २०४४ सालको स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको नगर प्रमुखसहित भनपाको १७ वटा वडामध्ये १५ वटा वडाहरूमा नेमकिपाका उम्मेदवारले जिते ।
निर्वाचित जनप्रतिनिधिहरूले निःस्वार्थरूपमा जनताको सेवा गरिरहेका थिए । यसले बहुसङ्ख्यक जनता प्रभावित भए । यो कुरा भ्रष्ट पञ्चहरूलाई अत्यन्त मन परेन । तसर्थ, भ्रष्ट पञ्चहरूले षड्यन्त्र गरी भक्तपुर काण्ड गरे । भक्तपुर काण्डमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ, तत्कालीन सांसद गोविन्द दुवाल, भनपाका जनप्रतिनिधि एवम् पार्टी कार्यकर्ताहरू आशाकाजी बासुकला, चैत्यराज शाक्य, ज्ञानबहादुर न्याइच्याई, प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, हिमालयश्वरलाल मूल, नारायणबहादुर दुवाललगायतका ६७ जनालाई ज्यान मुद्दामा फसाइयो । भक्तपुरका दुई हजारभन्दा बढी युवाहरूलाई घरमा बस्न नहुने गरी दुःख दिइयो । त्यसको असर प्रत्यक्ष र अप्रत्यक्षरूपले करिब ५० हजार भक्तपुरवासीलाई परेको थियो ।

भूकम्पपछिको राहत :
विसं २०४५ भदौ ५ गतेको भूकम्पबाट घर भत्किएर मान्छे मरेका, घर भत्किएर वा चर्किएर बस्न नमिल्ने अवस्थाका भूकम्प पीडितहरू राहतको आशामा थिए । भनपाले केही राहत या खाद्यान्नको व्यवस्था गर्यो । तर, त्यो पर्याप्त थिएन । भनपाले दिएको राहत रोक्ने प्रयास भक्तपुरका भ्रष्ट पञ्चहरूको दबाबमा केन्द्रीय सरकारबाट भयो । केन्द्रीय सरकारले मात्र राहत दिने घोषणा प्रम मरिचमान सिंह श्रेष्ठको सरकारले गर्यो । तर, सरकारको निर्णयविपरीत आधिकारिक पदमा नरहेका भूपू रापस कर्ण ह्योजुलाई बलिको बोको बनाउन राहत वितरण गर्न लगाइयो ।

सरकारको षड्यन्त्र :
पञ्चायती सरकार सामन्ती सरकार थियो । त्यस शासन सत्तामा सामन्त र त्यसका आसेपासेको सल्लाहमा शासन सञ्चालन हुन्थ्यो । अरू कुनै व्यक्ति वा संस्थाले जनताको माझमा राम्रो कार्य गरे पनि त्यो व्यक्ति वा संस्था राजाको पक्षमा नभएमा उनले सजाय पाउँथे । उनलाई षड्यन्त्र गरी कुनै न कुनै मुद्दामा फसाइन्थ्यो । त्यस्तो षड्यन्त्र २०४५ मा भयो । ह्योजुलाई राहत वितरण गराउने, राहत सिडिओ कार्यालयबाट तयार गरिएको नामावलीअनुसार वास्तविक भूकम्प पीडितलाई नदिलाई अरूलाई दिन लगाउने, राहत वितरणमा पक्षपात गरेर आक्रोशित बनाउने, कुटपिट भएपछि आफ्नै मान्छे (मण्डले)हरू लगाई सख्त घाइते बनाई उपचार नै नगरी मार्ने र त्यसको दोष नेमकिपा (रोहित समूह) लाई दिने जाल बुनेको देखियो । का. रोहित र उहाँका कार्यकर्ताहरूलाई फसाउने, नगरपालिका भङ्ग गर्ने, रापस गोविन्द दुवाललाई पदबाट बर्खास्त गर्ने र भनपामा भ्रष्ट राजावादी पञ्चहरू घुसाई त्यहाँको सम्पत्ति स्वाहा पार्ने षड्यन्त्र रचिएको थियो । त्यही उद्देश्य अनुसार ह्योजुलाई पञ्चायती सरकारले बलिको बोको बनायो । यो नेमकिपा समूल नष्ट गर्ने कालो कर्तुत थियो ।

नेमकिपा सामन्तहरू आँखामा धुलो :
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको नेतृत्वमा देशमा कामदार वर्ग सचेत हुँदै थियो । उनीहरू राजनैतिकरूपमा सङ्गठित बन्दै थिए । हिमाल, पहाड र तराईमा सङ्गठन विस्तार हुँदै थियो । त्यस्तै भक्तपुरका जनता पनि अछुटो रहन सकेनन् । नेमकिपा पक्षधर भक्तपुरका जनताले विसं २०१९ सालमा साँढे धपाउने आन्दोलनबाट गरिब किसान जनताको हितमा कार्य शुभारम्भ गरे । २०२१ सालमा भूमिमा जोताहाको नाम लेखाउने अभियान चलाइयो । २०२२ देखि तलसिँलाई बाली तिरिसकेपछि किसानलाई भर्पाइ दिलाउने अभियान चलाइयो । २०२४ सालपछि जग्गाधनीले जग्गा निष्कासन गर्दा किसानको पक्षमा बाली भित्र्याउने वा बाली काट्ने आन्दोलन भयो । २०२५ र २०२६ सालमा भ्रष्टाचारविरोधी आन्दोलन भयो । २०३७ सालमा बहुदलको पक्षमा प्रचार गरियो । २०३८ सालको आम निर्वाचनमा नेमकिपाबाट रापस पदमा भाग लिई भक्तपुरमा जिताइयो । २०३९ सालको स्थानीय निकायको निर्वाचनमा भनपाको मेयरमा ज्ञानबहादुर न्याइच्याई विजय भए । २०४३ सालको निर्वाचनमा नेमकिपाको तर्फबाट रापसमा गोविन्द दुवाल र भनपा मेयरमा आशाकाजी बासुकलाको समूह अत्यधिक मतले विजयी भए । देश र कामदार जनताको प्रतिनिधित्व गर्दै जनताको सेवामा निर्वाचित पार्टी कार्यकर्ताहरू सक्रिय रहे । यसबाट सामन्त वा राजावादी भ्रष्ट पञ्चहरूको बदनाम भयो । उनीहरूले मान सम्मान पाउन छोडे । किसान कार्यकर्ता वा नेमकिपाका कार्यकर्ताहरूले जनताबाट मानसम्मान पाए । जनता राजनैतिकरूपमा सङ्गठित भई पञ्चायती कुकृत्यको विरोधमा लागे । यो कुरा पञ्चहरूको लागि सह्य भएन । तसर्थ, उनीहरू षड्यन्त्र गर्ने समय कुर्दै थिए । सो समय ५ भदौ २०४५ को विनासकारी भूकम्पले जुराइदियो । आफ्नो शत्रु मर्कामा परेको बेला आक्रमण गर्नुपर्दछ भन्ने चाणक्य नीति अनुसरण गरी भक्तपुर काण्ड मच्चाइएको थियो । जनतालाई मर्काको बेला राहत दिनुपर्नेमा पञ्चायती सरकारले शत्रुको व्यवहार गर्यो । परिणामतः पञ्चायती व्यवस्था अन्त्यको कारण बन्न पुग्यो उक्त भक्तपुर काण्ड ।

भक्तपुर काण्डको परिणाम :
भक्तपुर काण्ड भक्तपुरवासीको लागि कहिल्यै निको नहुने घाउ बन्यो । भदौ ९ नेमकिपाको लागि कालो दिन बनेको छ । यसले नेमकिपाको सङ्गठनात्मक स्थिति कमजोर बनाइदियो । तत्कालीन राजावादी पञ्च, नेकाका स्थानीय कार्यकर्ता, देशका सामन्तहरूलाई खुसी मनाउने अवसर त्यस काण्डले मिलेको थियो । देशमा नेमकिपालाई जस्तै अरू पार्टीहरूलाई पनि दबाउने डर सृजना भयो । देशका वामपन्थी पार्टी र नेपाली काङ्ग्रेस पार्टीबीच एकता हुने वातावरण भक्तपुर काण्डले मिल्यो । नेमकिपालगायत वामपन्थी र काङ्ग्रेस मिलेर २०४६ फागुन ७ बाट आन्दोलन सुरु भयो । २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भयो । भक्तपुर काण्डले राजतन्त्र कमजोर बनायो । मुलाले आफूलाई आफै खाल्डो खन्छ भनेझैँ पञ्चायती व्यवस्थाले भक्तपुर काण्डको खाल्डो खन्यो र त्यसमा जाकिएर आफै समाप्त भयो । आगोसँग खेल्ने आगोमै र पानीसँग खेल्ने पानीमै मृत्यु हुन्छ भनेझैँ राजतन्त्र र पञ्चायती व्यवस्था पनि षड्यन्त्रबाटै समाप्त भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here