भ्रमण वर्षलाई नियालेर हेर्दा

0
1203


० कृष्ण प्रजापति
२०५४ साल पछि ईश्वी संवतको २०२० साल पारेर नेपाल सरकारले नेपाल भ्रमण वर्ष भनी पर्यटन वर्ष मनाइरहेको छ । नेपाल सरकारको तर्फबाट २० को साल भएकाले नै होला २०२० साललाई पर्यटकहरु नेपाल भित्रयाउने लक्ष सहित यो सरकारी कार्यक्रम घोषणा भएको थियो । त्यसको लागि पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी विभिन्न देशमा दौडधूप गर्नुुभयो । सोही सिलसिलामा ताप्लेजुङमा बन्न लागेको एयरपोर्टको अवलोकन गर्न जाने क्रममा गत वर्ष फागुन १५ गते वहाँले सहादत प्राप्त गर्नुभयो । सोही दिनदेखि पर्यटन भित्रयाउने कुरामा दुविधा उत्पन्न भएको थियो । तर लगतै अर्का युवा नेता तथा नेकपाका सचिव योगेश भट्राई पर्यटन मन्त्रीको रुपमा आएदेखि निरन्तर राष्ट्रिय कार्यक्रमको रुपमा रहेको नेपाल भ्रमण वर्ष सफल गराउनको लागि रातदिन काम भयो । बल्ल बल्ल वहाँको पालामा सुरु भएको यो भ्रमण वर्षको कार्य हेर्न बाँकी रहेकै बेला छिमेकी मुलुक चीनमा सुरु भएको कोबिड १९ भनिने कोरोना भइरसका कारण धरापमा पर्न गएको महसुस भइरहेको छ ।
नेपाल भ्रमण वर्षको सुरुवातसंगै नेपालमा यो वर्ष २० लाख पर्यटक भित्रयाउने सपना निकै चुनौतीपूर्ण रहेका कुराहरु अगाडि आइरहेको थियो । गत वर्षको तथ्यांक हेर्दा पनि करिब ११ लाख हाराहारी मात्रै नेपालमा विदेशीहरु आएको प्रमाण मिल्दछ । त्यसैगरी भारत र काश्मिरको विवादले पनि विश्वको ध्यान खिचिरहेको बखत भएकाले २० लाखको लक्ष्यमा तगारो हुने देखिएको थियो । यस्तै बेलामा पुनः छिमिकी राष्ट्र चीनको हुपेइमा देखा परेको कोरोना भाइरसको महामारी विश्वभर फैलिँदै गएको र चीन बाहेक पनि विश्वका चार पाँच सय ब्यक्तिहरु त्यसले मृत्यु समेत भएको खबरले पनि यो वर्ष नेपाल भ्रमण वर्षमा प्रभावित हुने कुरा जगजाहेर नै थियो । छिमेकी देशमा यत्रो विडन्त मच्चाएको कोरोना भाइरसले नेपाल अछुतो भएर रहन सक्ने कुरै भएन । तैपनि नेपाल सरकार भने २० लाख पर्यटक भित्रयाउने एकोहोरो धूनमा लागिरहेको थियो । निर्वाध रुपमा छिमेकी देश चीन लगायतका मुलुकबाट नेपालमा पर्यटन आइरहने हो भने भोलि नेपाल पनि चीन जस्तै महामारीको चपेतामा पर्न सक्दथ्यो । त्यसैले विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सम्वन्धी संघ संस्थाहरुले सजग गराएका थिए ।
निकै धिला बुद्धि आउने हाम्रो देशमा यसरी देश विदेशबाट दवावका साथै सचेत गराउने काम भएपछि बल्ल नेपाल सरकारले अहिलेको लागि विदेशमा पर्यटन वर्ष वा नेपाल भ्रमण वर्षको प्रचार प्रसार कार्य बन्द गरेको छ । हिजो सम्म नेपाल कोरोना भाइरस मुक्त देश हो भन्दै विदेशबाट नेपाल भित्र पर्यटन भित्रयाउने मनसाय बोकेर बसेको नेपाल सरकारले राता रात अब नेपालमा विदेशबाट पर्यटक भित्रियो भने कुनै पनि बेला यहाँ कोरोनाका रोगी समेत भित्रन सक्ने र त्यसले नेपाल सखाप नै हुन सक्ने कुरा थाहा पाएर अब त्यसको लागि सोच्न बाध्य भएको छ । त्यसैले हाललाई भन्दै नेपाल भित्रने पर्यटकलाई कडा गरेको अवस्था छ । आफ्नै देशका नागरिकहरुलाई त वाइटबडी विमान पठाएर उद्धार गरी विमान समेत क्वारेन्टाइनमा राखी १८ जनाको चालक, परिचालक लगायतका स्वास्थ्यकर्मिहरुको टोलीलाई नगरकोटमा राखेर क्वारान्टाइनमा निगरानीमा राख्ने गरेको नेपालले विदेशीहरुलाई निर्वाध रुपमा भित्रयाउँदा भयावह स्थिति आउन सक्छ भन्ने सोच पहिले नै किन ल्याउन सकिएन होला ?
यसरी नेपाल भ्रमण वर्ष २२ वर्ष पछि गरेको भएपनि यस अवसरमा २० लाख पर्यटक नपुग्ने भने अव लगभग पक्का नै भैसकेको छ । चीन नै हो केही वर्षदेखि बढी पर्यटक आउने गरेको राष्ट्र । ११ लाखमा ४—५ लाख जति गत वर्ष चीनबाटै आएका थिए । तर यो वर्ष चीनले आफ्ना नागरिक बाहिर पठाउनको लागि प्रतिवन्ध नै लगाएको अवस्था छ । त्यति मात्रै होइन आफ्नै देश भित्र पनि एक स्थानबाट अर्को स्थानमा जाने बेला ती रोग लगाउन सक्ने भाइरस सर्ने डरले कोठा भित्र वस्न र बाहिर निस्कनै परे मास लगाएर मात्रै बस्न अनुरोध गरेको छ । यो नागरिकको लागि थप कडा गरिएको अनुशासन हो । यस्तो समयमा नेपालमा विदेशी भित्रयाएर केही आम्दानी गर्ने कुरा नसोचे पनि भयो । बरु आन्तरिक रुपमा पर्यटकहरु यता उता गरेर पनि आर्थिक अवस्थामा केही सुधार ल्याउने कार्य कसरी गर्न सकिन्छ भनेर सोच्नु पर्ने बेला आएको देखिन्छ ।
२०५४ सालमा नेपाल भ्रमण वर्ष मनाउँदा नेपालले ५ लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको थियो । त्यो बेला सो लक्ष पूरा पनि भयो । सोही वर्ष नै भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव पनि गरेको थियो । यो वर्ष पनि यही चैत ४ गते देखि ८ गतेसम्म भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव मनाउने भएको छ । त्यसको लागि पनि आन्तरिक र बाह्य पर्यटकले प्रभाव पार्ने त छँदैछ । त्यसको लागि नेपाल सरकारले पनि सहयोग गर्ने अपेक्षा गरिएको छ । केन्द्रीय कार्यक्रमको रुपमा भूकम्प सुरक्षा दिवस भक्तपुर नगरपालिकाको जिम्मामा मनाएर प्रधानमन्त्रीको प्रतिनिधित्व गरी गृहमन्त्री रामबहादुर थापा बादल भक्तपुर दरवार क्षेत्रमा आएर सम्बोधन गरेको बेला नै पनि नेपाल भ्रमण वर्षको सिलसिलामा भक्तपुर नगरपालिकाले महोत्सव गर्ने कुरा अवगत गराएको थियो । त्यो बेला सम्म चीनमा कोरोनाको कुनै पनि कुरा सुन्नु परेको थिएन । तर हाल महामारीको रुप लिएको कोरोनाको कारणले पनि नेपालमा यो वर्ष नेपाल भ्रमण वर्ष मनाइनु अभिषाप भएको छ । त्यसैले पनि ब्यवसायीहरुले भ्रमण वर्ष सार्न माग गरिरहेका छन् ।
भ्रमण वर्षले बढी प्रभावित पार्ने भनेको पनि पर्यटक भित्रयाएर नाफा कमाउने वा पर्यटन ब्यवसाय सञ्चालन गरिरहेका होटेल ब्यवसायी, टुरिष्ट गाइड, ट्राभल्स एजेन्सी र विभिन्न पर्यटन क्षेत्रसंग सम्वन्धित ब्यक्तिहरुलाई नै हो । त्यस कारणले पनि ब्यवसायीको तर्फबाट सरकारलाई भ्रमण वर्षको कार्यक्रम सार्नु पर्यो भनी माग अगाडि सारिरहेका छन् । तर भ्रमण वर्षको नाम नै वर्षको आधारमा गरिएकाले २०२० कहिल्यै पनि २०२१ हुन सक्दैन । बरु २०५४ सालको सत्ता अब २०७७ साल हुन सक्दछ । त्यो पनि ७७ अंक मिलेको वर्ष नै हो । जसरी २०—२० मिलाएर भ्रमण वर्ष तय गरिएको हो । ७७ साल पनि राम्रो अंकको रुपमा लिन सकिन्छ । त्यसैगरी नेपालमा भ्रमण वर्ष मनाउने बेला त्यस्तै हालका हविगत पर्यो भने के गर्ने भन्ने कुराको पूर्वाभ्यास पनि हुनु पर्ने देखिन थालेको छ । नेपाल भ्रमण वर्षलाई अब आन्तरिक पर्यटन प्रवद्र्धनको वर्षको रुपमा मनाउनु उपयुक्त देखिन्छ ।