काभ्रेमा अनिशिचतकालिन कफ्र्यू

0
1454

काभ्रे । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि काभ्रेको पनौती अस्तव्यस्त बनेको छ । उक्त क्षेत्र आसपासमा मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको छ ।

सोमबार टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि उक्त क्षेत्रमा तनाव भएको छ । सम्भावित घटनालाई ध्यानमा राख्दै कर्फ्यू जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार बा ५ख ५४८० नम्बरको टिपरले २६ वर्षकी जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीलाई ठक्कर दिँदा दुवैको घटनास्थलमा मृत्यु भएको थियो ।

स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुका पनि तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो ।

घट्नापछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडप भई गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातको पातोमा गोली लागेको थियो भने स्थानीय हर्कबहादुर लामा र शरदलाई गोली लागेको थियो । हाल उनीहरुको उपचार भई रहेको छ ।

उक्त झडपमा प्रहरीसहित केही स्थानीय पनि घाइते भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।