खरिपाटीमा ७ दिनभित्र एक हजार बेडको अस्पताल बन्ने

0
2343

भक्तपुर । सम्भावित कोरोना महामारीको अवस्थामा उपचारको विशेष प्रवन्ध गर्न लागि भक्तपुरको खरिपाटीमा एक हजार बेडको अस्थायी अस्पताल बनाउने भएको छ ।

यसअघि चीनबाट फर्किएका विद्यार्थीका लागि क्वारेन्टाइन बनाइएको विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा १ हजार बेडको अस्थायी अस्पताल बनाइने भएको हो।
त्यसका लागि मन्त्रालयले महामारीको अवस्थामा खरिद गर्न सकिने द्रुत प्रक्रियाबाट बेडलगायतका सामग्री खरिद गर्न आजै टेन्डर गर्ने भएको छ ।

महामारी फैलिएको अवस्थामा अन्य जनरल अस्पतालमा उपचार व्यवस्थित गर्न नसके अन्य बिरामीसमेत संक्रमण फैलिने र झन् जटिलता थपिन सक्ने खतरालाई ध्यानमा राखेर छुट्टै अस्पताल बनाउन लागिएको हो। छुट्टै अस्पताल बनाउँदा अरु बिरामीलाई हुने जोखिम कम हुनेसँगै जनशक्ति, औषधिलगायतका अत्यवश्यकीय कुराहरुको व्यवस्थापन र संयोजन गर्न पनि सहज हुन्छ ।

सो तयारीको आधारमा सोमबार बसेको उपप्रधानमन्त्री संयोजकत्वको उच्चस्तरीय बैठकले ‘खरिपार्टी तालिम केन्द्रलगायतका तोकेका विभन्न अस्पताल भवनमा १ हजार बेडको व्यवस्था मिलाउने’ निर्णय गरेको थियो। स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेको अवस्थामा तत्कालै अस्पतालको रुपमा विकास गर्न सकिने उपयुक्त संरचना हेरेर व्यवस्थापन गरिने बताए । ‘आजै बेडका लागि टेन्डर हुँदैछ, ७ दिन जति लाग्छ, बेड आउँदासम्म उपयुक्त ठाउँमा राखेर अस्पताल बन्छ,’ डा. देवकोटाले भने ।

मन्त्रालयका प्रवक्ताले ठाउँका बारेमा यकीन विवरण दिने बेला नभएको बताए । मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री स्तरीय बैठकमा नै अहिले केही बेड रहेको र ठाउँ पनि प्रयाप्त रहेकोले खरिपार्टी नै सहज स्थान हुने निष्कर्षमा पुगेको थियो । खरिपार्टीमा अस्पतालका लागि बेड राख्न मिल्नेमात्रै ६० वटा हल छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मिर्गौला प्रत्यारोपणपछि १० दिनको अस्पताल बसाईबाट डिस्चार्ज भएकै दिन कोरोना उपचारका लागि छुट्टै अस्पताल बनाउँन निर्देशन दिएका थिए । चीन सरकारले महामारी सुरु भएको उहानमा ७ दिनमा हजार बेडको अस्थायी अस्पताल बनाएको विषयले अन्तराष्ट्रिय चर्चा पाएको थियो ।

मन्त्रालय स्रोतका अनुसार सुरुमा बेडसहित उपलब्ध सामग्री राखेर औचित्य र आवश्यकताका आधारमा थप्दै तयारी बढाउँदै लाने सरकारको योजना । विज्ञहरुका सुझाबका आधारमा आइसियु, भेन्टिलेटर नचाहिने अवस्थाका बिरामीलाई खरिपार्टी राखेर सघन उपचारका लागि टेकु अस्पताललाई पूरै खाली गरेर राखिने योजना सरकारको छ ।

मन्त्रालयका प्रवत्ता डा. देवकोटाका अनुसार जनरल बेड, आइसियुसहित उपचारका लागि आवश्यक पर्ने जनशक्तिको पनि प्रयाप्त तयारी गर्ने चरणमा मन्त्रालय छ । विश्व स्वास्थ्य संगठनले उहानसहित, इटली, इरानलगायतका क्षेत्रमा फैलिएको महामारीको आधारमा नेपपालमा फैलिएमा सुरुको महिनामा १ हजार ५ सय जनालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने आंकन गरेको छ । हजार बेडको छुट्टै अस्पताल काठमाडौमा बनाउँने र उपत्यकाबाहिरका बिरामीको सन्दर्भमा प्रदेश तहमै उपचारका उपयुक्तm प्रवन्ध गर्ने सरकारको तयारी छ । स्रोत ; हेल्थपाेस्ट