भक्तपुरमा कोरोना संक्रमित ९,२१६ पुगे

0
1883

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण एकसय २४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबारसम्ममा ८० जना पुरुष र ४४ जना महिला गरी कोरोना भाइरस संक्रमणका कारण एकसय २४ जनाको मृत्यु भएको हो ।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा पुरुष २९ र महिला १६ जना रहेको उनले बताए ।

‘भक्तपुरपछि मध्यपुर थिमि नपाका २६ जना पुरुष र १५ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ’, प्रमुख मिजारले भने, ‘त्यस्तै सूर्यविनायक नपाका १७ पुरुष र १३ महिला गरी ३० तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ जनाको मृत्यु भएको छ ।’
भक्तपुरमा कूल संक्रमितको १.३४ प्रतिशत मृत्यु भएको छ । जुन राष्ट्रिय मृत्युदरको दोब्बर हो । नेपालको कूल कोरोना मृत्युदर ०.६ प्रतिशतमा रहँदै आएका छन ।
कार्यालयका अनुसार आइतबारसम्म भक्तपुरमा कूल संक्रमितको संख्या ९ हजार २ सय १६ पुगेका छन् । जसमा पुरुष ५ हजार एकसय ९८ र महिला ४ हजार १८ रहेका छन् ।

यहाँका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा संक्रमितको संख्या ३ हजार ३ सय ८७ जना पुगेका छन् । जसअनुसार एकहजार ८ सय ७१ पुरुष र एकहजार ५ सय १६ महिला रहेका छन् ।

सूर्यविनायक नपामा एकहजार ७ सय १३ पुरुष र एकहजार २ सय ५५ महिला गरी कूल २ हजार ९ सय ६८ जना संक्रमित पुगेका छन् । त्यस्तै भक्तपुर नपामा ९ सय ३० पुरुष र ८ सय २३ महिला गरी एकहजार ७ सय ५३ र चाँगुनारायण नपामा ५ सय २० पुरुष र ३ सय १७ महिला गरी ८ सय ३७ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।