के हो माघी पर्ब ?

0
1016

नेपालका आदिवासी थारु समुदायको प्रकृतिसँग अति नजिक सम्बन्ध रहेको मानिन्छ । यो समुदायका मानिसको भाषा, रहनसहन, जीवनशैली अति फरक र रोचक मानिन्छ । थारु समुदाय केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन । यो समुदायका मानिसहरु परिश्रमका पारखी पनि मानिन्छन् र वर्षभरी खेतीपाती कै काममा व्यस्त हुन्छन् ।

थारु जातिले संस्कृतिमा अति धनी भएकाले प्रत्येक महिना उनीहरु विभिन्न पर्व मनाउँछन् । कुनै महिना विशेष पर्व छैन भने पनि उनीहरु गीत तथा लोकनृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । ती मध्ये सबैभन्दा महान पर्व माघीलाई मान्दछन् । यसलाई थारु समुदायको नयाँवर्ष पनि भनिन्छ ।

माघी के हो ?

माघी थारु समुदायको प्रमुख चाड हो । नेपालीका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो ।

माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाइन्छ । थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ । यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति(माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।

माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ ।

पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि) हरु तयार गरिन्छ । र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ ।

माघ १ गते अर्थात् माघीको दिन विहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरु सँगै सामुहिक रुपमा नदीमा नुहाउन जान्छन् । र, घरमा आई आ–आफ्नो दिदीबहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ ।

त्यसपछि सबै जना सबैसँग गाउँभरी ढोगसलाम गर्छन्, आशिर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । बर्षभरीका सुख दुःख का कुराहरु साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

केही पहिलेसम्म कमैया र कम्लहरीहरु छुटाउने फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो तर अहिले यस्ता प्रथा हटिसकेका छन् । गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि जस्ता विविध कार्यहरु पनि यही दिन गरिन्छ । वर्षभरी त्यही अनुसार चल्नुपर्ने हुन्छ । अर्थात् भनौँ लोकतान्त्रिक प्रक्रिया अनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । यसरी माघ महिनाभरी नै रमाइलो गरी माघ मनाउने गरेको देखिन्छ थारु समुदायलाई । यो पर्वमा विभिन्न क्रियाकलाप गरेको देखिन्छ । जसले यो पर्वको आवश्यकता झनै झल्काउँछ ।