काठमाडौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकको विवरण संकलनको कार्यलाई तिव्रता दिएको छ ।
विभागले अहिले कोरोना महामारीका वावजुद पनि दैनिक करिब १५ हजार नागरिकको विवरण संकलन गर्दै आएको र अब विस्तारै कोरोना महामारीको चुनौती कम हुँदै गएमा एक महिनामै करिब ८ लाख नागरिकको विवरण संकलन गरिने लक्ष्य राखिएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले बताए।
चालु आर्थिक वर्षलाई विवरण संकलनको वर्षका रुपमा लिइएको भएपनि चार महिना कोरोना महामारीको चुनौतीले काम ठप्प भएपनि अहिले विभाग तिव्ररुपमा विवरण संकलनमा जुटिरहेको उनको भनाई छ । अहिले ११ वटा जिल्लाहरुमा विवरण संकलनको काम भइरहेको र माघ मसान्तसम्ममा १८ जिल्लामा संकलनको कार्य विस्तार गरिने उनले बताए ।
झापा, सिन्धुली, ओखलढुङ्गा, उदयपुर,चितवन,गुल्मी,ललितपुर, डडेलधुरा, अछाम र कास्की र नवलपरासी पूर्वमा अहिले विवरण संकलन तीव्रताका साथ अगाडी बढीरहेको छ ।
पाँचथर, सङ्खुवासभा, कञ्चनपुर र चितवनमा गरी चार जिल्लामा विवरण सङ्कलनको कार्य सकिएको छ ।