शनिवार सम्पन्न साधारणसभामा पत्रकार राणाले भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र श्रेष्ठले मैंयादेवी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका हुन् । पत्रकार राणाले नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्राप्त गरेका छन् भने श्रेष्ठले नगद २ हजार ३ सय रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्राप्त गरेका छन् । राणा देशान्तर साप्ताहिकका प्रधान सम्पादक हुन् भने श्रेष्ठ राष्ट्रिय समाचार समितिसंग आवद्ध छन् ।
साधारण सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरही, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, केन्द्रीय सदस्यद्वय गोविन्द चौलागांई र लक्ष्मण कार्की लगायतले ओली सरकारको पछिल्लो कदमले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समेत खतरामा रहेकोले सचेत रहनुपर्ने आवश्यकता औल्याएका छन् । संविधानको खिलाफ भएको कदम र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको याे दुस्प्रयास महासंघलाई मान्य नहुने उनीहरुको भनाइ छ ।
कार्यक्रममा महासंघका उपत्यका प्रदेश महासचिव श्रृजन झा, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतले भक्तपुर शाखासंगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने बिश्वास व्यक्त गरे । शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव कृष्ण प्रसाद नेपालले पनि आफ्नो मन्यब्य राखेको थियो ।