काठमाडौं , काठमाडौं उपत्यकामा चिसो बढेको छ । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर भनी एक्यूएयरडटकमले देखाएदेखि बढेको मौसममा मंगलबार बिहान गिरावट आएको हो । पुसको जाडोमा पनि काठमाडौंमा प्रदूषणका कारण ९.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम भएकामा मंगलबार बिहान २.८ डिग्री मापन गरिएको छ ।
एक्यूएयरले मंगलबार बिहान भने काठमाडौंको एयर क्वालिटी इन्डेक्स मात्र २ देखाएको छ । काठमाडौं ९५ औं स्थानमा रहेको छ । जबकि एक नम्बरमा हुँदा एयर क्वालिटी इन्डेक्स ४८७ रहेको थियो ।
पछिल्ला केही दिनदेखि जाडो बढ्दै गएको छ । सोमबार न्यूनतम तापक्रम ३.४ डिग्रीसम्म पुगेको थियो ।
यसअघि शून्यको नजिक पुगिसकेको थियो । मौसमविद् गंगा नगरकोटीका अनुसार बिहान ६ः३० बजे तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश नं १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भूभागहरुमा बिहानीपख हुस्सु्–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सोमबारको न्यूनतम तापक्रम सबैभन्दा कम जुम्लामा माइनस ५.४ तथा बढीमा विराटनगरमा १२.७ रहेको थियो । अधिकतम तापक्रम सबैभन्दा बढी दिपायलमा २४.५ डिग्री रहेको थियो ।
काठमाडौंको न्यूनतम ३.४ तथा अधिकतम १८.३ डिग्री रहेको थियो ।