शहिद दिवसको शुभकामना

0
1754

काठमाण्डौं , माघ १६ । आज माघ १६ अर्थात् शहीद दिवस । प्रजातन्त्र स्थापना तथा पुनस्र्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

शहीदको सम्झनामा गएको १० गतेदेखि ‘शहीद सप्ताह’ मनाउने गरिन्छ । आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने छ ।

१९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।