भक्तपुर २०७७ फागुन ४ गते, मंगलबार । भक्तपुरको चाँगुनारायण नगरपालिकाको आफ्नै भवन बन्ने भएको छ । नगरपालिकाको वडा नं. ५ छालिङ्गको घुमाउनेमा बन्ने सो भवनको श्रीपञ्चमीको अवसरमा शिलान्यास गरिएको हो ।
आगामी १८ महिनाभित्र रु.२५ करोड ४६ लाख २५ हजारमा निर्माण सम्पन्न भईसक्ने सो भवनको शिलान्यास जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, मेयरका प्रत्यासी मेयर राजाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा गरेका थिए ।
छालिङ्गको वडामा रहेको ३० रोपनी क्षेत्रफलमा बन्ने सो भवन २०८० बैशाभित्र सकाउनुपर्ने सम्झौता गरेको हो । सो भवन निर्माणमा नगरपालिकाले चालू आर्थिक वर्षमा रु.१० करोड विनियोजन गरेको थियो भने जिल्ला समन्वय समितिले रु.३ करोड सहयोग गरेको छ ।
कार्यक्रममा मेयर मिश्रले नगरपालिकाको आफ्नै भवनबाट काम सम्पादन गर्ने सपना साकार बनाउनका लागि काम तदारुकताका साथ अघि बढाउनका लागि सबैको सहयोगको आवश्यकता औंल्याएका थिए । कार्यक्रममा अतिथिहरुले भवन निर्माण काम समयमै सम्पन्न गर्न शुभकामना व्यक्त गरेको थिए ।