चाँगुनारायण नगरपालिको भबन बनाउने स्थानमा विवाद, मुद्दा नै नछिनिंदै मेयरले गरे भवनको शिलान्यास

0
1960

भक्तपुर २०७७ फागुन ५ गते,बुधबार । हिजो मंगलबार चाँगुनारायण नगरपालिको भबन शिलान्यास गरेको हो । उक्त भबन चाँगुनारायण नगरपालिकाले बडा नं. ५ स्थित छालिङ्गको घुमाउनेमा बन्न लागेको हो ।

उक्त भबन बनाउने स्थानमा ४४ घरपरिवारलाई विस्थापित गर्न नियत सहित नपाले आफ्नो भबन निर्माण गर्न लागेको पीडित परिवारहरुले गुनासो गरेका छन् । नगरपालिकाले साविक छालिङ्ग गाविस ७ हाल चाँगुनारायण नगरपालिका वडा नं.५ स्थित कित्ता नं. ६१९ को २१ रोपनी क्षेत्रफलमा भवन बनाउने लागेको हो । जुन २१ रोपनीमध्य १५ रोपनी जग्गा आफुहरुले परम्परागत रुपमा भोगचलन गर्दै आएको पीडितहरुले दावी गरेका छन् ।

पीडितहरुले चाँगुनारायण नगरपालिकाले आफुहरुलाई उठिबास गर्न लागेको भन्दै उच्च अदालत पाटनमा मुद्दा समेत दायर गरेका छन् । उच्च अदालतमा दायर गरिएको मुद्दा अहिले पनि विचारधीन अवस्थामा रहेको छ । तर अदालतमा मुद्दा छिनोफानो नै नगर्दै नगरपालिकाले हिजो मंगलबार पीडितहरुको जग्गामा जबरजस्ती भबन निर्माणको शिलान्यास गरेको छ ।

पीडित जनताहरुको विरोध बीच नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल , नेकपाका केन्द्रीय सदस्य एवं चानपाका मेयर सोमप्रसाद मिश्र ,नेपाली कांग्रेसका नेता राजाराम खड्का , उपप्रमुख विना बास्तोला , प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी ,नेपाली कांगे्रसका नेता एवं वडा अध्यक्ष जयन्द्र खड्का लगायतको उपस्थितमा भवनको शिलान्यास गरेको हो ।

नगरपालिकाले दशैंको समयमा उक्त भबन निर्माणको जग शिलान्यास गर्नु पर्ने थियो तर उच्च अदालतमा मुद्दा परेकोले शिलान्यास कार्यक्रम स्थगित गरिएको थियो । तर हिजो शिलान्यास कार्यक्रमको समय तय भएसंगै जबरजस्तीे भूकम्पले क्षतिग्रस्त घरमाथि डोजर चलाएको थियो । हिजो मंगलबार पनि जबरजस्ती जग शिलान्यास गरिएको पीडित लीलानाथ ढुंगानाले छातापोष्ट बताए । उनले आफ्नो पुख्यौली घरसहितको जग्गामा नगरपालिकाले जबरजस्ती डोजर चलाएर नगरपालिकाको भवन शिलान्यास गरेको आरोप लगाए । उनको अनुसार २०२१ सालमा नापी हुँदा जग्गा दर्ता गर्न छुट भएको थियो । जसले गर्दा नापीनक्सामा ७ नम्बर पर्ती भनेर जनिएर आएको बहानामा नगरपालिकाले जबरजस्ती आफुहरुको पुख्यौली घरमाथि नै डोजर लगाएर हामीहरुलाई उठिबास लगाएको ढुंगानाको आरोप छ ।

उक्त जग्गामा ४४ घरपरिवार बस्दै आएको छ । यता भक्तपुर जिल्ला अदालतले २०७५ पुस २५ गते पर्ती जनिएको २१ रोपनी मध्य १५ रोपनी जग्गा परम्परागत भोग गर्दै आएको हुँदा चीरभोगको जग्गा हो भनी ठहर समेत गरेको ढुंगानाले जानकारी दिए । “हामीले रोक्दारोक्दै पनि हिजो जबरजस्ति रुपमा नै भवन शिलान्यास गरियो ” गहभरि आँसु पार्दै ढुंगानाले बताए । नगरपालिका र जनप्रतिनिधिहरुले नगरवासीको समस्या समाधान गर्छन् भनेर सुनेको थिए, तर गलत सुनेको रहेछ अर्का पीडित रुपेश ढुंगानाले दुःखेसो पोखे । उनले आफ्नो पुख्यौली जग्गा माथि नै घरबार विहिन गरेर उठिबास गरेर हामीलाई विस्थापीत गरे भनि दुःखेसो पोखे ।

यस्तो भन्छ मेयर मिश्र
अदालमा मुद्दा हुँदैमा नगरपालिकाको भवन बनाउन कुनै बाधा नहुने प्रतिक्रिया दिए । नापी नक्सामा नै पर्ती जग्गा जनिएको हुँदा अदालतले फैसला नगरपलिकाकै पक्षमा दिने कुरा बताए । यो सार्वजनिक जग्गा हो, जग्गाको विषयमा मुद्दा छ र उहाँहरुले उच्च अदालतमा नपाको भवन शिलान्यास रोकी पाउँ भनी निषेधाज्ञा हाल्नु भएको थियो तर अदालतले निषेधाज्ञा दिएको छैन मेयर मिश्रले बताए । यस्को विषयमा हामीले मुद्दा जित्ने पक्का भएकोले हिजो मंगलबार भवन शिलान्यास गरेको हो मेयरले बताए ।