मध्यपुर थिमीमा कराते एकेडेमीको उद्घाटन ,मेयरले गरे खेल क्षेत्रको विकासमा प्रतिबद्धता

0
1510
भक्तपुर,२०७७ फागुन ६ गते विहिबार । नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ । मध्यपुर थिमी नगरपालिकाले उपलब्ध गराएको करिब २ रोपनी जग्गा हातामा एकेडेमी निर्माण गरिएको हो ।

एकेडेमीका बारेमा प्रकाश पार्दै कोषाध्यक्ष सनिश श्रेष्ठले सोही हातामा पहिले करातेको ट्रेनिङ हल पनि निर्माण गरिएको जानकारी दिँदै सहयोगका लागि मध्यपुर थिमी नगरपालिकालाई धन्यवाद दिए । एकेडेमी र ट्रेनिङ हलका लागि करिब ८० लाख खर्च हुने बताउँदै अझै केही काम बाँकि रहेको बताए । मध्यपुर थिमी नगरपालिका वडा–४ को वप्पास्थित निर्माण गरिएको एकेडेमी भवन ४२ फिट लम्बाइ र ३२ फिट चौढाइ रहेको छ । २ वटा भवनलाई सिनियर र जुनियर खेलाडीका लागि प्रयोग गरिने बताइएको छ ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । उनले आफँ पनि पुर्वखेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेले एकेडेमी स्थापन गर्ने कार्यको प्रशंसा गर्दै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । एकेडेमीका अध्यक्ष सजन श्रेष्ठले सबैको साथ र सहयोगले निर्माण सम्भव भएको बताए ।