दत्तात्रय मन्दिरको कुथु मठमा शिताराम महन्त घोषणा

0
1448

भक्तपुर २०७७ फागुन १४ गते , शुक्रबार । दत्तात्रय मन्दिरका १२ मठ मध्य कुथु मठमा शिताराम महन्त गद्दी आरोहण गरेको छ । कुथु मठ बानेश्वर महादेवका महन्थ सानु कृष्ण वहादुर गिरीको स्वर्गारोहण भएको १३ औं दिनका दिन स्व गिरीले मुड्नु भएको चेलो उहाँकै सुपुत्र शिताराम गिरी गद्दी आरोहण गरेको हो ।

हजारौ वर्ष पुरानो परम्परालाई निरन्तरता दिदै धार्मिक नीति नियम, परम्परानुसार महन्त घोषणा गरीएको हो । दशनामी सम्प्रदायका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन रहेको छ ।

धार्मिक बिधिनुसार महन्तको निधन भएको १३ औं दिनमा देशभरका महन्तहरु, पशुपति लगायत विभिन्न ठाउँबाट आएको सन्यासी जोगीहरुको सहभागितामा तुराई (नागफणीं) बाजा बजाएर, रातो झल्लर छाता ओढाएर सिन्दुर जात्रा गरी दत्तात्रय ल्याएर दत्तात्रयको थाली, छडीसहित पुजारीबाट मन्दिरको फूल, प्रसाद, जलले अभिषेक गरेपछि शिर महन्त र पिर महन्तले चादर ओढाएर महन्त घोषणा गर्ने प्रचलन रहेको छ ।

यसै अनुरुप काठमाडौं उपत्यकाका महन्तहरु भारतबाट आएका १६ मठका महन्तहरु पशुपति लगायत विभिन्न ठाउँबाट आएको सन्यासी जोगीहरुको सहभागितामा तुराई (नागफणी) बाजा बजाई कुथु मठबाट गणेश मन्दिर भिमसेन मन्दिर लगाएत दत्तात्रय आसपासका मन्दिरहरुमा दर्शन गराई गिरीलाई महन्त गद्दी आरोहण गराईएको थियो ।
यसअघि पनि उहाँको जिजुबाजे गम्वीर गिरी, उहाँको हजुरबुबा अर्जुन गिरी र उहाँको हालै दिवंगत हुनु भएका वुवा सानु कृष्ण वहादुर गिरीलाई पनि यही परम्परानुसार भव्यताका साथ महन्तको अभिषेक गराइएको थियो ।

प्रत्येक मठमा शिवको मन्दिर हुने गर्दछ । जसमा बिचमा महादेव, वरिपरि नैऋत्यमा गणेश, वायव्यमा देवी, ईशानमा विष्णु, आग्नेय कोणमा सूर्य रहेको पाञ्चायन मन्दिर रहेन गर्दछ । गुरुदत्तात्रय मठ अन्तर्गतका भक्तपुर भित्र रहेका पुजारी मठ, क्वाठण्डौं मठ, ताजा मठ, दथु मठ, पुरानचोटा मठ, सिठु मठ, सुकुलढोका मठ, इखालछी मठ, गुचाटो मठ, चिकंफले मठ, कुठु मठ, ग्वाल्दा मठ गरी दत्तात्रयका १२ मठ र अन्य धतखा मठ, थाकल मठ, जंगम मठ, गोदावरी मठ, गरी भक्तपुरमा १६ वटा मठ रहेका छन् ।

दत्तात्रयको कुथु मठको नाममा १८०५ मा राम गिरीले गुठीको थालनी गरेको इतिहाँस रहेको छ । उहाँ उपरान्त उहाँहरुले मान्दै आउनुभएका चेलाले नै गुठी सम्हाल्दै पनि आएको छ ।