भक्तपुर । अवैध नगदसहित भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोलखा बैतेश्वर गाउँंपालिका ६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने बर्ष ३२ को सुमन घिमिरे र सोही स्थानमा घर भई हाल काठमाडौ माकलबारी बस्ने बर्ष ३७ को बिनोद तामाङलाई छुटाछुटै स्थानबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हारजितको खेल (जुवातास) खेलाई सोबाट आर्जन गरेको नगद रुपैया लिएर हिडिरहेको छन् भन्ने बिशेष सूचनाको आधारमा त्यस्ता ब्यक्तिहरु हिडडुल गर्ने बाटोहरुलाई लक्षित गरी परिसरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन गरी चेकजाँच तथा खोजतलास गर्ने क्रममा रातीको समयमा पेप्सीकोलाबाट सानोठिमीतर्फ आउदै गरेको बा २१ च ३८३९ नं.को नीलो रंगको कारलाई रोकी चेकजाँच गरेको थियो ।
त्यस क्रममा कार चालक बिनोदलाई पक्राउ गरियो । विनोदले चलाई ल्याएको गाडीको पछाडीको डिक्कीमा छरपष्ट अवस्थामा हजार, पाँच सय र एक सय दरका नेपाली रुपैयाका बिटाहरु फेला परेको हुँदा चालक बिनोदलाई सोध्दा उक्त रुपैया भक्तपुर बालकोट बस्ने सुमन घिमिरेले बालकोटस्थित घरमा पुर्याउन लगाएको भनी बताएको प्रहरीले जनाएको छ ।
गाडीको डिक्कीमा भएको नगद रकम बरामद गरी गन्दा रु. २७ लाख फेला परेको र चालक बिनोदले दिएको सूचनाको आधारमा पैसा धनी सुमन घिमिरेको खोजतलास गर्दा काठमाडौ ममहानगरपालिका पेप्सीकोलामा निजलाई फेला पारी सोधपुछ गर्दा निजले उक्त रकम आफ्नो भनी स्वीकार गरेको हुँदा निज बस्ने बालकोटस्थित डेराकोठामा समेत तलासी गर्दा नेपाली रुपैया १५ लाख ३० हजार फेला परेको प्रहरीले जनाएको छ ।
उल्लेखित रुपैया समेत कानून बमोजिम बरामद गरी श्रोत नखुलेको अवैध रकम भएको हुँदा नगद रु ४२ लाख ३० हजार, श्रोत नखुलेको रकम लिएर हिडेको बा. २१ च. ३८३९ नं. को कार, निज सुमन घिमिरेको नाममा काटिएको रु दुई लाख ५० हजार रुपैयाको राष्ट्रिय बाणिज्य बैंकको चेक थान –१, रु. ९ नौ लाख पचास हजार रुपैयाको प्राइम बैंकको बाउन्स चेक थान– १, रु. एक लाख २५ हजार रुपैयाको स्ट्याण्डर चार्टर बैंकको चेक थान – १, रु. नौ लाख १९ हजार रुपैयाको नेपाल बैंक लि. को चेक थान – १, रु. १५ लाख रुपैयाको महालक्ष्मी बिकास बैंकको चेक थान– १, मनास्लु डिस्ट्रिलरीको नाममा रु. ७२ बहत्तर हजार रुपैया नगद जम्मा गरेको भौचर थान –१ बरामद भएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।
पक्राउ परेका सुमन र बिनोद दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागी सम्पति सुद्धिकरण बिभाग पुल्चोक, ललितपुरमा शुक्रबार पठाइएको प्रहरीले जनाएको छ । साथै, निज दुईमध्ये सुमनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौ र महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाडौबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौबाट बैंकिङ कसुरमा समेत मुद्धा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानको क्रममा खुल्न आएको जनाइएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।