महाशिवरात्रीको अवसरमा रक्तदान कार्यक्रम

0
1178

भक्तपुर । महाशिवरात्रिको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय आठ जनाले रक्तदान गरेका छन् । समितिमा आबद्ध व्यक्ति तथा अन्य व्यक्तिले कार्यक्रममा रक्तदान गरेका हुन् । महाशिवरात्रीको अवसर पारेर समितिले रक्तदान सँगै सत्सङ्ग तथा प्रवचन कार्यक्रमको पनि आयोजना गरेको छ ।
सत्सङ्ग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली बाईजीले शिवरात्रिको दिन मनमा भएको अन्धकारलाई हटाएर प्रकाशको बोध गर्नुपर्ने बताउनुभयो । हरेक व्यक्तिको हृदयमा प्रकाशको विराट रूप हुने भएकाले त्यो विराटरुपलाई चिन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा महात्मा वीणा बाईजीले गुरु विना जीवन सफल हुन नसक्ने बताउनुभयो । अभिमानले भरिएको यो शिरलाई गुरुको चरणमा झुकाएमा मात्र जीवनमा सकारात्मक विचारको विकास हुने र सकारात्मक विचारले जीवन सफल हुन सक्ने कुरामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै महात्मा ईला बाईजीले शान्तिकालागि मानिस संसारमा रहेका हरेक कुराका पछि लागिरहेको तर मन नै शान्त नभएका कारण शान्ति पाउन नसकिरहेको बताउनुभयो । अशान्त मनलाई अध्यात्मले मात्र शान्त बनाउन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल मानव धर्म समितिका कार्यकर्ता उत्तम गिरीले आफूमा भएको नकारात्मक कुरा त्याग गर्नेहरुका लागि हरेक दिन शिवरात्रि भएको बताउनुभयो । आफूमा भएको नकारात्मक कुरालाई तिलाञ्जलि दिएर सकारात्मक कुराको विकास गर्न सक्नु नै हरेक पर्वको सार्थकता भएको उहाँको भनाई छ । ज्ञानी समाजले मात्र युग परिवर्तन गर्न सक्ने र युवाहरू जागरुप भएमा मात्र यो संभव हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘संसारमा जति पनि व्यक्ति सफल, प्रख्यात भएका छन्, उनीहरू सबैले आफूले आफूलाई चिन्नुपर्ने, अन्तर मनको यात्रा गर्नुपर्ने बताएका छन् । यो अन्तर मनको यात्रा अध्यात्म विना सम्भव नभएकोले अध्यात्मको शरणमा आउन आग्रह गरेका छन् । यीनै सफल व्यक्तिहरूले दिएको सन्देशलाई आजका हर व्यक्तिले समयमा नै बुझ्नुपर्ने र अन्तर मनको यात्रा सुरु गर्नुपर्छ ।’
कार्यक्रममा भजन, नाटक तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।