२०७७ चैत्र ११ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सरकारी सहयोग विना नै सामुदायिक भवन बनेको छ । ताथलीको माथिल्लो सौडोलमा करिब रु. ८ लाखको लागतमा सामुदायिक भवन बनेको हो । सो भवन माथिल्लो सौडोलस्थित माझीभैरब टोल विकास संस्थाको अगुवाइमा बनेको हो ।
बढ्दो जनसंख्यासँगै कुनै जमघट, भेटघाट, भोज सञ्चालनका लागि समुदायमा स्थान अभाव भएपछि स्थानीयहरुको सक्रियतामा करिब २ सय जना अट्ने भवन बनाएको संस्थाका अध्यक्ष हरिकृष्ण न्हेम्हाफुकीले जानकारी दिए ।
सो भवनको मंगलबार एक कार्यक्रमबीच चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले गरेका थिए । सो ठाउँमा रहेको गुठीयारहरुले रकम संकलन गर्दै, जनश्रमदान गरी सो भवन बनाएका हुन्।
भवन उद्घाटन कार्यक्रममा सहभागी चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले सामुहिक भावनाको विकासका लागि स्थानीय गुठियारहरुको पहल प्रशंसायोग्य भएको बताउँदै भवनलाई भोज खुवाउने ठाउँको रुपमा मात्र उपयोग नगरी बहुउद्देश्यीय भवनको रुपमा उपयोग गर्नुपर्ने बताए ।
उनले सामुदायिक भवन भएकाले समुदायकै लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै भवनलाई विपदको समयमा समेत उपयोग गर्न सुझाव दिए । भवनको सुधारका लागि भवनलाई मेयर मिश्रले नगरपालिकाबाट आवश्यक सहयोग समेत गरिने वचन व्यक्त गरे ।
कार्यक्रममा चाँगुनारायण नपा वडा नं. ९ का वडाध्यक्ष त्यातले पछिल्लो समयमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्ति बढिरहँदा माझी भैरब टोल विकास संस्थाले जग्गा संरक्षणका लागि उदाहरणीय काम गरेको समेत बताए । उनले समाजलाई समृद्ध र सम्मुन्नत बनाउनका लागि सामुहिक भावनाको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सोही वडाका वडा सदस्य कृष्णराम बासुकलाले सौडोलमा जनश्रमदानकै कारण विकास निर्माणलाई संस्थागत गर्न सहयोग पुगेको बताउँदै सोबारे नयाँ पुस्तालाई ज्ञान दिन आवश्यक रहेकोमा जोड दिए ।
देवी माध्यमिक विद्यालयका प्राचार्य राजाराम छुकांले सामुहिक स्वार्थका लागि समाजका हरेक वर्गलाई उत्साहित गर्नुपर्ने चर्चा गर्दै भवनलाई विभिन्न रचनात्मक क्रियाकलापका लागि उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रगति युवा समाजका उपाध्यक्ष एवं सञ्चारकर्मी हरिसुन्दर छुकांले गुठीसम्बन्धी क्रियाकलाप गर्नका लागि भवनले सहयोगी भूमिका खेल्ने जनाउँदै भवनले सामुहिक क्रियाकलाप गर्न उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।
सोही अवसरमा भवन निर्माणका लागि सहयोग गर्नेहरुमध्ये चुकुरी न्हेम्हाफुकी, हेलबहादुर न्हेम्हाफुकी, पञ्चलाल न्हेम्हाफुकी, सत्यबहादुर गाँसी, विजय माकजु र विलबहादुर न्हेम्हाफुकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गुथीका गुथी नाइके ज्ञानकुमार न्हेम्हाफुकीको शिरमा लाई वडाध्यक्ष गणेश त्यातले फेटा बाँधेर सम्मान गरेका थिए ।
संस्थाका सल्लाहकार रवीन्द्र न्हेम्हाफुकीले भवन निर्माणको उद्देश्यबारे प्रकाश पारेको सो कार्यक्रममा संस्थाका सचिव विष्णुभक्त न्हेम्हाफुकीले पनि बोलेका थिए । कार्यक्रममा सयपत्री साकोस्का अध्यक्ष हरिगोपाल बासुकलाको पनि उपस्थिति रहेको थियो ।
ते