नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेला सम्पन्न, भेलाबाट प्रकाश गुरुङ्गको संयोजकत्वमा केन्द्रीय समिति गठन

0
1770

काठमाडौं, १४ चैत्र । नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय समितिमा प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन भएको छ ।

राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्र्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरुको जिम्मेवारीको विषयमा बोल्नुहुदै विद्यार्थीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक विषयमा जानकार हुनुपर्नेमा जोड दिदै सांसद सुवालले नेपालको गलत नक्सा भारतले छाप्ने भएकाले अतिक्रमित भूमिबारे भ्रम सिर्जना भएको बताए ।
प्रतिक्रियावादी साहित्यले जनताको मुद्दालाई नसमेट्ने हुनाले विद्यार्थीहरुले माक्र्सवादी साहित्यको अध्ययनमा निखारिनुपर्ने अतिथि सुवालले बताए । उहाँले वर्गशत्रुहरुले किसान र मजदुरका छोराछोरीहरुलाई हरेक क्षेत्रमा बाधा हाल्ने बताउनुहुँदै विद्यार्थी सचेत र संगठित गर्नुको विकल्प नभएको बताए ।

भेलामा नेमकिपा केन्द्र्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले वर्गशत्रुहरुको निन्द्रा हराम गर्ने काम क्रान्तिकारीहरुले गर्ने भएकाले सैद्धान्तिक प्रशिक्षणमा जोड दिन आग्रह गरे ।
अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले जस्तै देशभरका अन्य स्थानीय तहले पनि शैक्षिक संस्था खोल्ने र स्वास्थ्य सेवा उपलब्ध गराउन सके नेपाली जनताको जीवन सहज हुने औंल्याउदै अन्य स्थानीय तहका जनप्रतिनिधिहरु भक्तपुर नगरपालिकाको भ्रमणमा आइरहेको जानकारी गराए । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले अध्ययनलाई व्यवहारमा रुपान्तरण गर्दै सांगठनिक सक्रियतालाई व्यापकता दिनुपर्नेमा जोड दिनुपर्ने कुरा बताए ।

नेमकिपा केन्द्रीय सदस्य एवं नेमकिपा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले युवा विद्यार्थीले कामदार जनतालाई सचेत र संगठित पार्ने काममा सक्रिय हुनुपर्ने कुरा बताए ।

भेलामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले प्र्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, सचिव रमेश प्रजापतिले प्रस्तुत गरेको गतिविधि प्रतिवेदन र कोषाध्यक्ष आर.जी.ले प्रस्तुत गरेको आर्थिक प्र्रतिवेदन संशोधनसहित पारित गरियो । त्यस्तै, संघका उपाध्यक्ष प्रकाश गुरुङ्गले प्रस्तुत गर्नुभएको भावी नीति तथा कार्यक्रम र राष्ट्रिय र अन्तराष्ट्रिय प्रस्तावहरु संशोधनसहित पारित गरियो ।

भेलाको बन्दसत्रले प्रकाश गुरुङ्गको संयोजकत्वमा २४ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी संघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको थियो ।