सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माको जानकारीअनुसार देशभरकै विद्यालयहरु भोली मंगलबारबाट ४ दिनको लागि बन्द गर्ने निर्णय गरिएको छ । त्यसपछि पनि वायु प्रदुषण नघटेमा मन्त्रालयले थप निर्णय लिनेछ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो । मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध गरेको थियो।
मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान पनि सर्वसाधारणलाई अपिल गरेको थियो। प्रदुषणले काठमाडौं उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।