कहिलेदेखि मनाउन थालियो अप्रिल फुल

0
1556

भक्तपुर,१९ चैत्र। बिहीबार चैत १९ गते अप्रिल फुल । हरेक वर्षको अप्रिल पहिलो तारिखमा अप्रिल फुल मनाउने चलन छ । यो दिन एकले अर्कोलाई झुक्याएर खुशी मनाउने चलन रहेको छ ।

यसदिन झुठो बोले पनि छुट हुने मान्यता रहँदै आएको छ । विशेषगरी बालबालिकाहरु अप्रिल फुल मनाएर खुशी हुने गर्छन् । युवामाझ यो दिन झुठो बोलेर दुःख दिने गरेको पनि पाइएको छ ।

नेपालमा एकले अर्कालाई विश्वास गर्ने वातावरण घट्दै गइरहेको अवस्था सिर्जना हुँदै गएको छ । राजनीतिक माहोल अस्थिर बन्दै जाँदा विश्वासको वातावरण पनि घट्दै गइरहेको छ ।

नेताहरुले गर्ने बाचाहरु झुठो सावित हुँदै गएका छन् । प्रतिवद्धता तोडिएका छन् । अर्थात् नेताहरुले जनतालाई हरेक दिन अप्रिल फुल मनाउँदै आएका छन् ।

कहिलेदेखि थालियो यो मनाउन
अप्रिल फुल मनाउन कहिलेदेखि थालियो भन्ने यकिन छैन । तर इतिहासकारहरुका अनुसार अप्रिल फुलको शुरुआत सन् १५८२ देखि भएको हो । फ्रान्समा जुलियन क्यालेन्डरको सट्टा ग्रेगोरियन क्यालेन्डर अपनाइएको थियो ।

जुलियन क्यालेन्डरमा हिन्दू नववर्ष जस्तै मार्चको अन्त्य या अप्रिलको शुरुआतमा वर्ष शुरु हुने गर्छ । अर्थात् अप्रिल १ को वरिपरि । ग्रेगोरियन क्यालेन्डर अर्थात् जनवरीदेखि डिसेम्बर । क्यालेन्डर बदल्ने जानकारी जसलाई ढिला गरी पुग्यो त्यो मार्च अन्तिम वा अप्रिल पहिलोसम्म रहेको थियो ।

उनीहरुले त्यही अप्रिल १ मै नयाँ वर्ष मनाउन थाले । यो मजाक पनि बन्यो । ठट्टाहरु पनि बनाइयो । चुड्किला पनि बने ।

त्यसलाई अप्रिल फुलको रुपमा लिइयो । कागजका माछा बनाएर पछाडि राख्न थालियो । त्यसलाई अप्रिल फिस पनि भन्न थालियो । त्यो फिस सजिलै शिकार हुने गर्दथ्यो ।

इतिहासकारहरु आनन्द लिनका लागि अप्रिल फुललाई ‘हिलेरिया’ शब्दसँग पनि जोड्न थाले । यसलाई सिबेल समूदायका मानिसले मार्चको अन्त्यमा प्राचिन रोममा मनाउन थालियो । एक अर्काको भेष बदलेर त्यहाँका प्रमुख सम्मको मजाक उडाउन थालियो ।

यसलाई इजिप्टको प्राचीन प्रसङ्गमा जोड्न थालियो । अप्रिल फुलको सम्बन्धलाई कसैले बसन्त ऋतुको आगमनसँग पनि जोडेर हेरेको पाइन्छ । प्रकृतिले मौसम बदलेर मानिसलाई मूर्ख बनाइरहेको प्रसङ्ग पनि जोडिन्छ ।

बेलायतमा १८ औं शताब्दीमा मनाउन थालियो । स्कटल्याण्डमा यो दुई दिने परम्परा बन्यो । हन्टिङ द गौक भनेर मूर्ख व्यक्तिको शिकारका रुपमा मनाउन थालियो ।

अप्रिल फुल समय बदलिँदै जाँदा मिडियामा पनि चर्चित हुन थाल्यो । सन् १९५७ मा बीबीसीले स्वीस किसानले चाउचाउ फलाएको सन्दर्भ राखेर रिपोर्ट बनायो । हजारौंले बीबीसीमा फोन गरेर सोध्न थाले ।

सन् १९९६ मा फास्ट फुड रेस्टुरेन्ट चेन ट्याको बेलले फिलाडेल्फियाको लिबर्टी बेल किनेको र उसको नाम ट्याको लिबर्टी बेल राखेको भनेर मानिसलाई मूर्ख बनाएको थियो ।