भक्तपुरमा उसु अवार्ड–२०७७’ हुने

0
1759

भक्तपुर । नेपालको खेलकुद इतिहास मै पहिलो पटक उसु अवार्ड–२०७७ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उदेश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशल्टार र यो यो बैंक्युट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड भक्तपुरमा प्रदान गरिने भएको हो ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरको पहल एवं नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा आगामी २१ गते शनिवार यो यो बैंक्युटमा भव्य समारोह बिच पहिलो उसु अवार्ड–२०७७ प्रदान गरिने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं यो यो बैंक्युटका सञ्चालक श्रीभक्त कासिछ्वाले पत्रकार भेटघाटका क्रममा जानकारी दिनुभयो ।
उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरि आदान प्रदान गर्नुभएको थियो ।

कूल ५ लाख ६० हजार रुपैयाको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बैक्युटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी प्रायोजन गरिएको कासिछ्वाले जानकारी दिनुभयो।
कार्यक्रममा ६ खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने छ । उसुको सान्सौं र थाउलोतर्फ समान १–१, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ ।
उदीयमान खेलाडीका रुपमा १–१ पुरुष र महिला गरी २ खेलाडीलाई अवार्ड तथा नगदबाट पुरस्कृत गरिने छ ।
आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद साग को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण कार्यक्रमका संयोजक महर्जनले जानकारी दिनुभयो ।

उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥र्याउने एक जनालाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छभने विगत १० वर्षदेखि उसु प्रशिक्षका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिने भएको छ ।

नेपाल मै पहिलो पटक भक्तपुरबाट उसु अवार्ड वितरणको सुरुवात गर्न पाउँदा सिंगो भक्तपुरका लागि खुशी र गौरवको कुरा भएको बताउदै समितिका अध्यक्ष एवं योयोका सञ्चालक कासिछ्वाले अवार्ड वितरण कार्यक्रम भव्य बनाउने बताउनुभयो ।

पुरस्कारका मुख्य प्रायोजक नागरिक विकासका अध्यक्ष सुब्बाले उसुका खेलाडीलाई प्रदान गरिने यो अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउदै अवार्डको सुरुवातले खेलाडीको मनोबल बढाउनुका साथै देशको शान उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
त्यस्तै भोलियन्टर उसु कमिटीको अध्यक्ष मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्दै भोलियन्टर उसु कोच कमिटीको रुपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो ।
अवार्डमा प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्त रुपमा ट्रफी अनावरण गर्नु भएको हो ।