फेरिएनन् सार्वजनिक यातायातको मुहार

0
1215

सहचालक – ए दाई अलि उता जानुस त । अरुलाई पनि लैजानु छ ।
यात्रु – भित्र टेक्ने ठाउँ नै छैन कता सर्ने हो ।
सहचालक – उता खाली छ । जानु न यति धेरै छ बाहिर, सबैलाई अटाएर लैजानु पर्यो ।
यात्रु – हामी नै गुन्दु्रक जस्तै भइसक्यौँ । कता सर्ने हो ?
सहचालक – त्या खाली छ त जानु न ।
यात्रु – बस अलि चाडै लैजानु पर्योँ नि भाइ । सधैँ एक घण्टामा लैजान्छौं।

 यो सम्बाद कमलविनायक जितपुर कलमसी सडकखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातको हो । यहाँको हरेकजसो सार्वजनिक यातायातको यस्तै छ ।

यहाँका सार्वजनिक यातायातमा बस भित्र मात्रै होइन । कहिले त बसको छतमासमेत यात्रुको खचाखच हुन्छ ।
हरेक दिनको बसमा उभिन मात्रै होइन पाइलै टेक्ने ठाउँ नहुने स्थानीयको गुनासो छ । ‘सधैँ यस्तै हो । बस अलि चाँडै लैजानु भनेको कहिल्यै मान्दैन । जहिले प्याक हुन्छ । गुन्द्रुकभन्दा पनि बढी कोच्छ । न हात राख्न मिल्छ न खुट्टा नै,’ एक स्थानीयले भने, ‘आफ्नो मनपरि पाराले बस चलाउँछन् । बसको संख्या बढाउनभन्दा पनि कहिले सुन्दैनन् ।’
कमलविनायकबाट भत्केको पाटी हुँदै जीतपुर चरेली कलमसी हुँदै यहाँको बस नगरकोटसम्म पुग्ने गर्छन् । तर बस भने ७ वटा मात्र सञ्चालनमा छन् ।

‘त्यो पनि प्रतिघण्टाको एक वटा कहिले त त्यो पनि ठेगान हुदैन । नजिकका त हिडेर जान्छन तर टाढाको एक घण्टै कुरेर जान्छन्,’ उनी थप्छन् ।

बसलाई निगरानी राख्नको लागि कुनै संस्था नभएको कारणले मनपरी रुपमा बस सञ्चालन हुँदै आएको सहचालक बताउँछन् । बस सञ्चालनको लागि समिति त छ तर सबै बस मालिक मात्रै । अनि आफूखुसी नियम बनाइ चलाउने सेवाग्राही बताउँछन् ।

कमलविनायक कलमसीको बस मात्रै होइन । यससँगै कमलविनायक, च्याम्हासिह, सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिकाका ग्रामीण भेगमा जाने अधिकांश सार्वजनिक यातायातको अवस्था उस्तै छ ।
नाम नखोल्ने सर्तमा एक स्थानीयले भने, ‘कहिलेकाही त यहाँका बसले एक टिपमा एक सय पचास जनाभन्दा बढी यात्रु बोक्छन् । तपाइ आफैँ भन्नुस् बसको क्षमता कति हो ?’

यहाँका स्थानीयले सिहदरबारको अधिकारलाई नजिकबाट नियालेका साढे तीन वर्ष वितिसकेको छ । सोही अधिकारलाई स्थानीय सरकारले विभिन्न स्थानमा विकासको मुल फुटाए । पहाड फोरेर सडक विस्तार गरे । गाउँ सहर बने । बाटो नभएको ठाउँमा बाटो खने । कच्चीलाई पक्की सडक बनाए । तर पहिलेदेखिको समस्यालाई कुनै जनप्रतिनिधिले हटाउन सकेको नसकेको गुनासो स्थानीयको छ ।

यहाँका स्थानीय बसमा न त कोरोनो रोकथामको मापदण्ड नै देखिन्छ न त सार्वजनिक आरक्षण सीट नै ।
उता बस सञ्चालक भने आफ्नो तेल खर्च नै नउठ्ने बताउँछन् । ‘कहिले बसमा कोचाकोछ हुन्छ । कहिले १० देखि १५ जना यस्तो बेला आफ्नो तेल खर्च पनि उठ्दैन,’ बस सञ्चालक राजिव बुढाथोकीले भने, ‘बसमा यात्रु पनि खासै हुदैन । जसरी भएपनि स्थानीयलाई सुरक्षित यात्रा गराएको दावी उनले गरे ।’

यस विषयमा स्थानीय सरकारसँगै सरोकारवाला निकायसमेत बेखवर छन् । वडा नं. न ८ का जनप्रतिनिधी नरेन्द्र बहादुर श्रेष्ठ आफ्नो क्षेत्रको सार्वजनिक यातायातले सीमित मात्र यात्रु ओसारपसार गर्ने गरेको बताए ।