भारतमा कोरोना संक्रमणले हरेक दिन रेकर्ड बनाउन थालेको छ । शुक्रबार २४ घण्टामा भारतमा २ लाख ३३ हजार ७ सय ५७ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै रेकर्ड हो ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा १ लाख ७४ हजार मानिसको मृत्यु भइसकेको छ । यस्तै, २४ घण्टामा १ लाख २२ हजार ८ सय ३९ जना निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १६ लाख ७३ हजार छ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ६३ हजार ७ सय २९ संक्रमित थपिएका छन्। उत्तर प्रदेशमा २७ हजार ४ सय २६ र राजधानी दिल्लीमा १९ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। तीन राज्यमा मात्र १ लाख १० हजार संक्रमित थपिएका छन्।
उत्तर प्रदेशमा कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेको छ। यहाँ शुक्रबारमात्र २७ हजार ४ सय २६ संक्रमित थपिएका छन्। तीन दिनयता २० हजारभन्दा बढी संक्रमित थपिएका छन्। महामारी तीव्र हुन थालेपनि आइतबार लकडाउन घोषणा गरिएको छ। कोरोना बढेपछि कक्षा १० र १२ को परीक्षा स्थगित गरिएको छ। मास्क नलगाउनेलाई १० हजार रुपैयाँ जरिवाना लगाउने व्यवस्था गरिएको छ। लकडाउनका क्रममा प्रदेशका हरेक जिल्लामा स्यानिटाइजेसन हुने जनाइएको छ।