काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा वितरण प्रणाली स्थगित गरेको हो ।
सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो। चालू आर्थिक वर्ष २०७७-७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।
कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगित गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन ।