अनावश्यक भीड भएको भन्दै जिल्ला प्रशासनले रोक्यो सवारी पास

0
1087

भक्तपुर । निषेधाज्ञा सुरु भएसँगै अनावश्यक रुपमा सवारी साधनको पास लिनेको भीडभएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास दिन रोक लगाएको छ । शुक्रबार एक सूचना जारी गरी कार्यालयले अत्यावश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यका लागि सम्बन्धित वडा कार्यालयको सिफरिस लिएकालाई मात्रै सवारी पास दिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन आउने गरेकाले सवारी पास गर्न रोक लगाएको हो ।

उनले खाद्यान्नका पसलहरु बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने जानकारी दिए।

यातायातका साधनको हकमा भने खाद्यान्नलगायत दैनिक उपभोग्य सामान बोक्ने र अति आवश्यक कामका लागि प्रयोग गर्ने साधन निर्वाध रुपमा चलाउन पाइने उनले स्पष्ट पारे ।

विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैक, वित्तिय संस्था, विमा, एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने उनले बताए।

उनले यस्ता व्यक्तिहरुलाई कही कतै अवरोध भएका सहजीकरणका लागि नेपाल प्रहरीको एक सय र एक सय ३ मा फोन गर्न बताए।