भक्तपुर l भक्तपुरको दुवाकोट चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ। केही दिनको तयारीपछि अहिले त्यहाँ बिरामी राख्न मिल्ने बनेको छ।
कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँमात्रै उपलव्ध गराएको र बाँकी सबै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे। बेड र त्यसका लागि आवश्यक ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, सावुन, रुमाल, टुथपेष्टलगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए।
साथै वेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए। शनिबार विहानसम्म त्यहाँ विरामी भने पुगेका छैनन्। तर विरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ।
यसअघि पनि पहिलो चरणको कोरोनाका बेला त्यहाँ बेड विस्तार गरिएको थियो। तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँदै गएकाले विरामी राख्नुपरेको थिएन। त्यसपछि प्रशासनसँगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सबै स्टोरमा राखेको थियो। अहिले त्यही बेड विस्तार गरिएको हो।