काठमाडौँ । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले बिहीबार राजनीतिक दल दर्ता टुङ्ग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय गरेको हो ।
आयोगका अनुसार नेकपा(एमाले) लाई सूर्य चिन्ह प्रदान गरेको छ । त्यस्तै नेपाली काँग्रेसलाई रुख चिन्ह, नेकपा(माओवादी केन्द्र) ले गोलाकारभित्र हँसिया हथौडा चिन्ह ,राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह आयोगले प्रदान गरेको छ ।
त्यस्तै आयोगले निर्वाचनका कूल मतदाताको सङ्ख्या पनि टुङ्गो लगाएको छ। आयोगका अनुसार प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ ।