राष्ट्रिय सभा निर्वाचनमा नेमकिपाका कृष्णबहादुर तामाङले दिए उम्मेदवारी

0
1109

भक्तपुर,२०७८ वैशाख २५ । नेपाल मजदुर किसान पार्टीले वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको छ । नेमकिपाका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सैंजु रहेको जनाइएको छ ।

नेमकिपाका उम्मेदवार आफूलाई जित र हारसँग सरोकार नरहेको प्रष्ट पारेका हुन् । उम्मेदवारी दर्ता गराएसँगै तामाङले हारजित जे भए पनि आफू पार्टीको निर्देशन अनुसार चल्ने बताए । पार्टीको निर्देशन अनुसार आफूले उम्मेदवारी दिएको भन्दै देश र जनताको लागि काम गर्ने प्रतिवद्धता उनले जनाए ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।