काठमाडौ, २८ वैशाख २०७८ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। यो दिन मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन पनि छ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
यो वर्ष कोरोना भाइरसको नयाँ रुप देखा परेको कारण सकेसम्म घरमै बसि बन्द बन्दीको समयमा घर बाहिर ननिस्कन आग्रह गरेको छ । भक्तपुर नगरपालिकामा भने आजको दिन मिठान नबेच्न समेत आग्रह गरेको छ । साथै मातातीर्थ मेला समेत स्थगीत गरेको छ ।