काठमाडौँ , २८ वैशाख २०७८ । काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी छ ।
जारी निषेधाज्ञालाई १३ जेठसम्म कायम गर्दै काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न दिइने निर्णय गरेका हुन् । यसअघि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । यसै गरी विवाह तथा व्रतबन्धमा १० जना भन्दा बढी भेला हुन पाइने छैन । विवाह तथा व्रतबन्ध अब घरबाटै १० जना मात्रै भेला भएर गर्न पाइने छ ।
यस्तै अत्यावश्यक सेवाबाहेकका सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेपछि पहिलेका निर्णयमा केही परिमार्जन गरिएको जानकारी दिए ।
कोरोनाभाइरस संक्रमणलाई चेन ब्रेक गर्न भन्दै १६ वैशाखबाट सुरु गरिएको निषेधाज्ञा २२ वैशाखसम्म तोकिएकोमा यसअघि एक साता थप गर्दै २९ वैशाखसम्म पुर्याइएको थियो ।