काठमाण्डौ, २९ वैशाख २०७८ । आज मे १२ तारिख अर्थात् विश्व नर्सिङ दिवस । विश्वव्यापी महामारीको समयमा आफ्नो शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मान स्वरुप शुभकामना व्यक्ति गर्दछु।
विश्व इतिहासलाई हेर्ने हो भने सन् १८४० मा बेलायतमा भयङ्कर अनिकाल पऱ्यो । त्यहाँ रोग, भोक, कुपोषणले आक्रान्त मानवहरूको अवस्था देखेर फ्लोरेन्स नाइटेङ्गलको कोमल हृदय आहत भयो । उनी परिचारिकाको ज्ञान हासिल गरेर दीन-दुःखी, शोषित, पीडित, दमित, रोगीहरूको सेवा गर्न चाहन्थिन् तर उनताका धनी र अभिजात्य परिवारका नारीहरूले परिचारिकाको सेवा गर्दैनथे । नर्सिङ पेसालाई बडो घृणा र हेयका दृष्टिले हेरिन्थ्यो । यस्तो अवस्थामा फ्लोरेन्स नाइटेङ्गललाई नर्सिङ पढ्ने अनुमति परिवारले दिएन तर फ्लोरेन्स नाइटेङ्गलले नर्सिङ कोर्षका किताबहरू किनेर कोठामा राती अबेरसम्म पढ्ने गरेको देखेर फ्लोरेन्सका मातापिताले उनलाई नर्सिङ कोर्ष पढ्ने अनुमति दिए । उनीले पछि उनले आफ्नै नर्सिङ तालिम केन्द्रको स्थापना गरिन् ।
सन् १८५४ देखि १८५६ सम्म रुस र टर्कीमाझ क्रिमियाको युद्ध भयो । त्यसबेला फ्लोरेन्स नाइटेङ्गल आफ्ना ३८ अन्य सहयोगी नर्सहरू लिएर घाइते सैनिकहरूको सेवा गर्न टर्की पुगिन् । त्यहाँ युद्धमा घाइते र अपाङ्ग भएका सैनिकहरूको सेवा गर्न प्रारम्भ गरिन् । अपाङ्ग र घाइते सैनिकहरूको चित्कार, आर्तनादको स्वरमाझ चौबिसै घण्टा नसुतेरै पनि हातमा बत्ती लिएर प्रत्येक घाइते सैनिकको सेवा गर्न उनी पुग्न थालिन् । युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएकी उनीलाई सैनिकहरूले उच्च सम्मानका साथ ‘लेडी विथ ए ल्याम्प’ भनेका हुन् ।
त्यतिबेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भने अस्पतालमा सरसफाईका कुराहरूमा उत्ति ध्यान दिइँदैन थियो । स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । फ्लोरेन्सले अस्पताललाई सफा राख्न र विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुंनिक नर्सिङ पेशाको सुरुवात गरिन् ।