काठमाडौं,३१ वैशाख २०७८ । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास मत गुमाएका केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि अहिले राति ९ बजेसम्मको समय दिएकी थिइन् । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरुले प्रधानमन्त्री दाबी गर्न सकेनन् ।
माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिएकोले देउवा पक्षमा बहुमत नजुटेको हो ।
विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।
सोमबार विश्वासको मत लिँदा माधव नेपाल पक्षको बहिष्कारका बीच ओलीले ९३ मत पाएका थिए । उनको विपक्षमा १२४ र १५ मत तटस्थको पक्षमा खसेको थियो ।