काठमाडौं । चौधरी ग्रुप सीजीको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ।
काठमाडौंका मेसुके ओलोमोउले २१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। मेसुकेको उक्त गोल नै उपाधिकालागि निर्णायक भएको थियो।
पहिलो हाफमा धनगढीले खेलमा तालमेल मिलाउन नसक्दा गोलका अवसरहरू सृजना भए पनि गोल गर्न सकेको थिएन। काठमाडौंले पनि केही राम्रा अवसरहरू पाए पनि धनगढीका किपर किरण चेमजोङको उत्कृष्ट गोलकिपिङले गोलहरु हुन पाएका थिएनन्।
दोस्रो हाफमा धनगढीले केही आक्रामक रूपमा र तालमेल मिलाएर मैदानमा छिरेको थियो। केही राम्रा आक्रमणहरू कप्तान एवं किपर विकेश कुथूले बचाउ गरेका थिए।
फाइनल अगाडि धनगढीले काठमाडौंलाई दुई पटक पराजित गरेको थियो। लिग खेलमा धनगढी ३–० गोल अन्तरले विजयी भएको थियो भने पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई हराउन सङ्घर्ष गर्नुपरेको थियो । अतिरिक्त समयमा पुगेर खेल धनगढीले २–१ गोल अन्तरले जितेको थियो ।
खेल अगाडि काठमाडौंका मार्की तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्ने दाबी गरेका थिए र उनले आफ्नो दाबी पुरा गरे । पहिलो पटक भएको यो प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ जितेको छ ।