शसस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

0
1326

काठमाडौं । सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर घाइते भएका थिए । घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याएको थियो । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५स्थित नथइनगर नाका ( वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५-७ जनाको समूहमा जान आएका व्यक्तिहरुसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो । त्यसपछि उनीहरुले गाउँबाट ५०-६० जनाको समूह बोलाई टोलीमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रृ ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्रहुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो । ’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाईते भएको र उनको टाउकोमा गंभिर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीयहरु नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।