भक्तपुर। सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ। चिकित्सा विज्ञ प्रतिष्ठान (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रूपमा सो स्थानमा छुट्टै अस्पताल सञ्चालित छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नयाँ भवनका लागि आगामी आव भित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नका लागि बजेट विनियोजन गरिएको छ। सो अस्पताललाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने उनको भनाई छ।
बजेटमा परिवर्तित जीवनशैली, खानपानका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा क्यान्सर र नसर्ने रोगका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको विशिष्टीकृत अस्पताल निर्माण गरिने उल्लेख छ।
चालीस वर्षभन्दा माथिका नागरिकको रक्तचाप, रगत, पिसाब जाँच र स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको तथा आगामी वर्ष तीन प्रदेशमा ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको छ।
सबै मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, र केन्द्रीय अस्पतालले कम्तीमा एकवटा सरकारी अस्पतालमा नियमित विशेषज्ञ सेवा सहितको सेटलाइट सेवा सञ्चालन गर्न व्यवस्था मिलाएको छ। दुई सय क्षमता भन्दा बढी शय्याका अस्पतालले मानसिक उपचारका लागि न्यूनतम दश शय्या छुटाउनुपर्ने व्यवस्था मिलाइएको छ। पचास भन्दा बढी शय्या भएका अस्पतालले ज्येष्ठ नागरिकको उपचारका लागि शय्या छुट्ट्याउनुपर्ने व्यवस्था गरिएको छ।