काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष एवम विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनपछि उनले नेपाली समाजमा खेलेको भूमिकाबारे प्रशंसा भएको छ । थापाको मंगलबार अपरान्ह ४ः२५ बजे नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
कोरोना संक्रमणले थलिएका उनको अत्याधुनिक एक्मो प्रविधिको सहायतामा उपचार भइरहेको थियो । तर फोक्सोमा दीर्घकालिन असर भइसकेकाले उनलाई बचाउन चिकित्सकहरु असफल भएका थिए ।
उनको निधनपछि नेपाली राजनीतिका शीर्ष नेता, कलाकार, बुद्धीजिवी, पत्रकारलगायतले उनले वैकल्पिक र आदर्श राजनीतिको शुरुवात गर्ने अभियन्ता भनेर स्मरण गरेका छन् । ‘नेपाली भन्ने कि बन्ने’ र ‘नेपाल खुल्ला छ’ जस्ता नागरिक जागरण र बैकल्पिक राजनीतिको अभियान थालेका उज्वलप्रति सयौं शुभेच्छुकहरुले समवेदना प्रकट गरिरहेका छन् ।