काठमाडौं, जेठ १७ गते । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ ।
उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख झलक गौतमले बताउनुभयो । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ ।
‘एक पटक पनि खोप नलगाएका नागरिकलाई पहिलो मात्राको खोप दिन्छौं,’ उहाँले भन्नुभयो, ‘जसले पहिलो मात्राको खोप लगाउनुभयो उहाँहरुको लागि दोस्रो मात्रा खोप पनि सुरक्षित गरेर अगाडि बढ्छौं ।’ शिक्षक र सवारी चालकलाई पनि पहिलो चरणमा खोप दिइने भन्ने कुरा छ नि ? भन्ने जिज्ञासामा प्रमुख गौतमले यी सबै विषयमा छलफल भइरहेको बताउनुभयो ।‘यसबारे हामी छलफल मै छौं । अहिले कुनै निर्णय भएको छैन’ उहाँले भन्नुभयो ।
त्यसो भए कुन समूहलाई खोप दिने तयारीमा हुनुहुन्छ ? भनेर सोध्दा उहाँले उमेर समूहमा पनि जान सकिने बताउनुभयो ।
‘जुन पहिलेको प्राथमिकता छ उमेर समूहको त्यसमा पनि जान सक्छौं । अथवा बढी जोखिम भएको क्षेत्रमा जान सकिन्छ,’ उहाँले भन्नुभयो, ‘नभए सबैलाई सामेल गरेर लैजाने पनि सकिन्छ । यद्यपी हामी यी सबै सम्भावनाका बारेमा छलफल गर्दैछौं ।’
जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका नागरिकका लागि कोरोनाविरुद्धको पहिलो खोपका लागि अनलाइन आवेदन भर्न आग्रह गरेको थियो ।
खोप महाशाखा प्रमुख झलक गौतमले कोभिडविरुद्धको दोस्रो चरणको खोप अभियान सकिने वित्तिकै यो अभियान शुरु हुने र यसको लागि तयारी भइरहेको बताउनुभयो । कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ र फारम भर्ने अन्तिम मिति भने नतोकिएको मन्त्रालयले जनाएको थियो । प्रमुख गौतमका अनुसार कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणविरुद्ध खोप लगाउन जोसुकै इच्छुक नेपाली नागरीककले आवेदन दिन सक्नेछन् ।