कोरोना भाइरस महामारी फैलिएपछि गत वर्ष धेरै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भए । फुटबल, टेनिस, क्रिकेट, बक्सिङ, ब्याडमिन्टन आदि खेलका महत्वपूर्ण प्रतियोगिता स्थगित वा रद्द नै भए । यही क्रममा युरोकप २०२० प्रतियोगिता पनि स्थगित भएको थियो । युरोपियन फुटबल महासंघ (युइएफए)ले त्यति नै वेला स्थगित भएको युरोकप ११ जुन ०२१ देखि ११ जुलाई २०२१ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । एक वर्षपछि धकेलिएको युरोकप शुक्रबार राति १२:४५ बजे इटाली र टर्कीबीचको खेलसँगै विधिवत रूपमा १६औँ संस्करण सुरु हुँदै छ ।
सन् २०२१ मा प्रतियोगिता भए पनि युइएफएले यसको नाम ‘युरोकप २०२०’ नै राखेको छ । युरोपियन राष्ट्रहरूबीच मात्र हुने युरोकप फुटबल प्रतियोगिता ११ सहरका ११ रंगशालामा हुनेछन् । ११ जुलाईमा लन्डनको वयम्ली रंगशालामा १६औँ संस्करणको विजेता छिनोफनो हुनेछ । फुटबलका समर्थक, विश्लेषक तथा पारखीहरूले यो एक महिना युरोकप मात्र नभएर दक्षिण अमेरिकामा हुने कोपा अमेरिकाको पनि मज्जा लिनेछन् ।
युरोकप साँझको ६:४५ बजे सुरु हुन्छ । साँझदेखि राति अबेरसम्म युरोकप, त्यसपछि बिहानभरि कोपा अमेरिका फुटबलको मज्जा लिनेछन् समर्थकले । २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने युरोकपमा कुल ५१ खेल हुनेछ । युुइएफएले चार वर्षअघि नै सहभागी देशको संख्या १६ बाट २४ पुर्याएको थियो ।
प्रतियोगिताको नकआउट चरण खेल २६ जुनदेखि सुरु हुनेछ । २ जुलाईदखि क्वार्टरफाइनलका खेल सञ्चालन हुनेछ । ६ र ७ जुलाईमा प्रतियोगिताको सेमिफाइनल हुनेछ । ११ जुलाईमा इंग्ल्यान्डको वयम्ली रंगशालामा फाइनल खेल हुनेछ । युरोकप २०२० मा सहभागी २४ मध्ये १९ देशले अघिल्लो संस्करण खेलेका छन् ।
फिनल्यान्ड र नर्थ म्यासेडोनिया पहिलोपटक भाग लिँदै
फिनल्यान्ड र नर्थ म्यासेडोनिया पहिलोपटक युरोकपमा छनोट भएका छन् । स्कटल्यान्डले सन् १९९८ पछि फुटबलकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान पक्का गरेको हो । स्कटल्यान्डले अन्तिमपटक १९९८ मा विश्वकप खेलेको थियो । सन् २०१६ को युरोकप गुमाएको नेदरल्यान्ड्स र डेनमार्कले यसपटकको युरोकपमा स्थान पक्का गरेका छन् । अझ नेदरल्यान्ड्स सात वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फर्किएको हो ।
नेदरल्यान्ड्स सन् २०१४ को विश्वकपछि पहिलोपटक मुख्य प्रतियोगिता खेल्दै छ । सन् २००४ को विजेता ग्रिस छनोट पार गर्न नसकेको पूर्वविजेता देश बन्यो । सन् २०१६ को युरोकप खेलेका अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र र रोमानिया योपटक छैनन् । प्रतियोगिताको मुख्य दाबेदारको रूपमा फ्रान्स, स्पेन, इटाली, जर्मनी र इंग्ल्यान्डलाई लिइएको छ ।
युरोकपमा प्रत्येकपटक छनोट हुँदा इंग्ल्यान्डलाई दाबेदार भनिने गर्छ । तर, इंग्ल्यान्डले युरोकप एकपटक पनि जितेको छैन । योपटक पोल्यान्डका रोवर्ट लेवान्डोस्की, साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केरिमा वेन्जिमा, केलियन एम्बाप्पे, इंग्ल्यान्डका ह्यारी केन, मार्कोस रास्फोर्ड, रहिम स्ट्रेलिङजस्ता खेलाडी युरोकपका आकर्षण रहनेछन् ।
११ देशका ११ सहर आयोजक
युरोकपले ६० वर्ष पार गरेको छ । यसअघिका संस्करण संयुक्त वा एकल रूपमा आयोजना हुने गरेको थियो । युरोपमा फुटबल कल्चर विकास गर्न र एक–आपसमा सद्भाव बढाउन युइएफएले युरोकप सन् २०२० को आयोजना सुरुमा १२ देश घोषणा गर्यो । तर, विविध कारणवस आयरल्यान्डको डब्लिन सहरमा आयोजना नहुने भएपछि अब ११ देशका ११ सहरमा युरोकप हुने तय भएको छ । युरोकपका आयोजक रोमानिया र अजरबैजान भने छनोट भएनन् ।
११ आयोजक देश सीधै युरोकप छनोट पार गर्न सफल भए । योपटक हंगेरी तथा स्कटल्यान्डले प्लेअफ चरणबाट स्थान सुरक्षित गर्ने राष्ट्रमा पर्छन् । युइएफएका अनुसार समूह एका खेल अजरबैजानको बाकु र इटालीको रोममा हुनेछन् । समूह बीका खेल डेनमार्कको कोपनहगेन र रसियाको सेन्ट पिटर्सवर्गमा मात्र हुनेछ । यसैगरी समूह सीका खेल नेदरल्यान्ड्सको आम्स्टर्डम र रोमानियाको बुचारेस्टमा हुनेछन् ।
समूह डीका खेल इंग्ल्यान्डको लन्डन र स्कटल्यान्डको ग्लाजगोमा हुनेछ । समूह ईका खेल स्पेनको सेभिल्ला र रसियाको पिटरवर्गमा हुने युइएफएले जनाएको छ । अन्तिम समूह एफका खेल जर्मनीको बायर्न म्युनिखमा र हंगेरीको बुडापेस्टमा हुनेछन् ।
जर्मनी र स्पेन सर्वाधिक विजेता
युरोकपले १५औँ संस्करण पार गर्दा दुई देशले मात्र सर्वाधिक तीन–तीनपटक ट्रफी चुमेका छन् । जर्मनी र स्पेनले मात्र यस्तो सफलता हात पारेका हुन् । स्पेन र जर्मनीपछि फ्रान्सले सर्वाधिक दुईपटक उपाधि हात पारेको छ । सोभियत संघ, इटली, चेक रिपब्लिक, नेदरल्यान्ड्स, डेनमार्क, ग्रिस र पोर्चुगल एक–एकपटक विजेता बनेका छन् । पोर्चुगल प्रतियोगिताकै साविक विजेता हो । युरोकपमा जर्मनीको इतिहास निकै राम्रो छ । जर्मनी अहिलेसम्म धेरैपटक युरोकप खेल्ने देशमा पनि पर्छ । जर्मनीले १२ पटक युरोकप खेलिसकेको छ । जसमध्ये ६ पटक फाइनल पुग्दा तीनपटक उपाधि जित्यो । स्पेन, इटली र फ्रान्सले आयोजकका रूपमा उपाधि हात पारेको रेकर्ड बनाएका छन् ।
परिमार्जित नियम
युइएफएले युरोकप २०२० मा खेलाडी धेरै चोटग्रस्त नहुन भनी केही नियम परिवर्तन र सहज बनाएको छ । यसअघिको प्रतियोगितामा तीनजना खेलाडी मात्र परिवर्तन गराउन पाउने नियम थियो । योपटक युइएफएले सहभागी देशले पाँचजना खेलाडीसम्म प्रवेश गर्न सक्ने निमय बनाएको छ । यदि खेल अतिरिक्त समयमा धकेलिए थप एक खेलाडी परिवर्तन गर्न पाइनेछ ।
नियमित समयमा तीनपटक मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ । कोरोना भाइरसका कारण खेलाडीको कोटा पनि बढाइएको छ । सहभागी टोलीले २६ खेलाडी राख्न पाउनेछन् । यसअघिको नियममा २३ खेलाडी मात्र एक टोलीमा हुन्थे । मैदानमा अफिसियलहरूलाई सहज बनाउन भिआरको प्रयोग हुने भएको छ । यसैगरी ६ समूहका शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा पुग्नेछन् । समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टोली पनि क्वार्टरफाइनलमा पुग्नेछन् ।
विजेतालाई १० मिलियन युरो
प्रतियोगिताको विजेताले १० मिलियन युरो र उपविजेताले सात मिलियन युरो प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीले ५ मिलियन हात पार्नेछन् । रमाइलो पक्ष के छ भने फाइनल पुग्ने दुई टोलीले समूह चरणदेखि सेमिफानलसम्मकै पुरस्कार धनराशि प्राप्त गर्नेछन् । क्वार्टरफाइनल पुग्ने प्रत्येक टोलीले ३.२६ मिलियन युरो हात पार्नेछन् । प्रिक्वार्टरफाइनल खेल्ने १६ टोलीले जनही दुई मिलियन युरो पाउने आयोजकले जनाएको छ ।
यसैगरी समूह चरणको प्रत्येक खेलमा जित्ने टोलीले १.५ मिलियन युरो प्राप्त गर्नेछ । बराबरी भएमा दुवै टोलीलाई सात लाख ५० हजार युरो प्रदान गरिनेछ । युरोकपमा छनोट भएका टोलीले अलग ९.२५ मिलियन युरो प्राप्त गर्नेछ ।(नयाँ पत्रिकाबाट)