तरकारीको आम्दानीबाट बालबालिकालाई पोषण र खाद्यान्न वितरण

0
1239

भक्तपुर । भक्तपुरमा व्यवसाय रुपमा तरकारी खेती गर्दै आइरहेको एउटा संस्थाले एचआईभी संक्रमित बालबालिकाहरुलाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ ।भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले एचआईभी संक्रमित बालबालिकालाई आवश्यक पोषण तथा खाद्यान्न सहयोग गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरको ३ वडा झौखेलमा सन् २०१५सालदेखि देखि करिब ८ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक गोलभेंडा तथा तरकारी खेती गर्दै आएको हो ।
सुरुवातले व्यवसायिक गोलभेंडा तथा तरकारी खेतीबाट भएको आम्दानीबाट एचआईभी संक्रमित बालबालिकाहरुलाई पोषण एवं खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष उमेश खड्काले बताए । सुरुवातले एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा व्यवसायिक गोलभेंडा तथा तरकारी खेती गर्दै आएको खड्काले बताए।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न जारी निषेधाज्ञाको कारण पीडित २१ जना एचआईभी संक्रमित बालबालिकालाई खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए । अध्यक्ष खड्काले प्रतिव्यक्ति १५ किलो चामल, दाल ३ किलो, पीठो २ किलो र चिनी, नून, गेडागुडी एकएक किलो, तेल एक लिटर र आधा क्रेट अन्डा सहयोग गरिएको जानकारी दिए । उनका अनुसार प्रतिव्यक्ति करिब ३ हजार रुपैयाँबराबरको खाद्यान्न सहयोग गरिएको छ ।‘निषेधाज्ञाको कारण दैनिकी गुजारा गर्न नै समस्या भएको जानकारी आएपछि एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हौं’, उनले भने, ‘थप अर्को एक महिनाको लागि पनि खाद्यान्न सहयोग गर्ने तयारीमा सुरुवात छ ।’
एआरभी खाइरहेका विपन्न १३ जना बालबालिकालाई सन्तुलित पोषणस्वरुप उक्त खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक पन्नोश शर्मा बताउँछन् ।उनका अनुसार सुरुवातले कोरोना भाइरस संक्रमणको पहिलो लहरका बेला पनि ती बालबालिकालाई दुईचरणमा खाद्यान्न सहयोग गरेको थियो ।

यसबीचमा स्थानीय तहमा माग गर्दा पनि कुनै राहत उपलब्ध नगराएपछि सुरुवातमै यस वर्ष पनि सहयोग माग गरेको संक्रमित बालबालिकाले बताएका छन् । आफूहरु एचआईभी संक्रमित भएकाले शरीरको रोग प्रतिरोधी शक्ति कमजोर हुने र त्यसमाथि कोरोना भाइरस संक्रमण भए स्वास्थ्य अवस्था गम्भीर हुने ध्यानाकर्षण गर्दा पनि कुनै पनि स्थानीय निकायबाट सुनुवाइ नभएको उनीहरु बताउँछन् । त्यसैले गत वर्षझै यस वर्ष पनि सुरुवातमा सहयोगको माग गरेको र सोहीअनुसार सहयोग प्राप्त भएको उनीहरुको भनाइ छ ।

सुरुवातका अध्यक्ष खड्काले १३ जना संक्रमित बालबालिकासँगै अन्य ३७ जनालाई खाद्यान्न सहयोग गर्ने प्रक्रियामा रहेको जानकारी दिए । जसमा ३१ जना गरिब एवं विपन्न एचआईभी संक्रमित रहेका छन् । बाँकी ६ जना भने पूर्वलागूपदार्थ प्रयोगकर्ताका परिवार रहेको उनले बताए ।

भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी भक्तपुर नपामा एचआईभी संक्रमित बालबालिका छन् । यहाँ एक बालिकासहित ७ जना संक्रमित छन् । मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नपामा २–२ जना छन् । जसमध्ये सूर्यविनायकका दुइटै बालिका हुन् । भक्तपुरमा १३ जना बालबालिकासहित ८२ जना एचआईभी संक्रमितले जीवनदायिनी औषधि एआरभी सेवन गरिरहेका छन् ।