भक्तपुर । भक्तपुरको ताथलीका युवाहरुले कोरोनाको जोखिम घटाउन ‘मास्क, साबुन र सेनिटाइजर’ अभियान सुरु गरेका छन्।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा गठन भएको ताथली कोरोना रोकथाम अभियान समितिले उक्त अभियान सुरु गरेको हो। नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि युवाहरुले घरघरमा पुगेर मास्क, साबुन र सेनिटाइजर वितरण गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेका छन्।
विभिन्न व्यक्ति, संघ, संस्था, समूहहरुबाट प्राप्त सहयोगलाई सदुपयोग गर्दै स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको अभियानमा सहभागी युवाहरुले बताएका छन्। ‘स्वास्थ्य सचेतना आवश्यक छ, यसका लागि हामीले सानो प्रयास गरेका छौं, अभियानमा सहभागी युवा जयकृष्ण न्हेम्हाफुकीले भने’, ‘हामीले घरघरमा पुगेर स्वास्थ्य जोखिम कम गर्न सघाउने सामग्री दिएका छौं।’
उनीहरुले प्रत्येक घरलाई १५ वटा मास्क, एकवटा सेनिटाइजर र एउटा साबुन वितरण गरेका थिए। ‘अहिलेको समयमा मास्क लगाउने, साबुन पानीले मिचीमिची हात मात्र धुँदा पनि कोरोनालगायत अरु रोगहरुको जोखिम समेत कम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्’, स्थानीय बिमल न्हेम्हाफुकीले भने, ‘त्यो जोखिम कम होस् भनी हामीले विभिन्न व्यक्ति, संघसंस्थाहरुबाट सामग्री जुटाएर ताथलीका स्थानीयलाई वितरण गर्न सुरु गरेका हौं।’
अभियानअन्तर्गत शनिबार २ सय घरधुरीलाई ती सामग्रीहरु वितरण गरिएको अभियान समितिका शिवप्रसाद छुकांले बताए। सो अभियानमा प्रगति समूह, ताथलीले सहयोग गरेको छ।‘बच्ने र बचाउने उपाय नै अहिलेको राम्रो उपाय हो, ‘अभियानमा सहभागी प्रगति समूहका सदस्य धनराज श्रेष्ठले भने’, ‘यसैले भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सहयोग गर्नुको विकल्प छैन।
अभियानअन्तर्गत सौडोलबाट सुरु भएको स्वास्थ्य सामग्रीलाई ताथलीका विभिन्न टोल, बस्तीमा विस्तारै अघि बढाउने योजना रहेको उत्तम साखकर्मीले बताए। सो सामािजक अभियानलाई ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सोहन मेडिहेल्थ, सरस्वती इँटा उद्योग, भक्तपुर इँटा उद्योग व्यवसायी संघलगायतले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
‘समाजका लागि सचेतना आवश्यक छ, समाजलाई स्वस्थ राख्नका लागि युवाहरुको पनि सामाजिक उत्तरदायित्व हुन्छ, हामीले अहिलेको चुनौतिका बाबजुद पनि केही गर्ने प्रयास गरेका छौं।’ उनले भने।
चाँगुनारायण नगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवालका अनुसार हाल चाँगुनारायण नगरपालिकामा २ हजार ४ सय ३२ संक्रमित छन् भने ताथलीमा १ सय ८३ जना संक्रमित छन्। तिनीहरुमध्ये ८१ महिला र १ सय २ पुरुष छन्।