नर्थ म्यासेडोनियालाई पराजित गर्दै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश

0
1070

एजेन्सी । नेदरल्यान्ड्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो । जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपेले एक गोल थपे ।   खेलको २१ औं मिनेटमा एलेक्सजेण्डर ट्राजकोभस्कीको प्रहार पोस्टमा लाग्दा म्यासेडोनिया अग्रता बनाउन चुकेको थियो  ।

तर, २४ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । काउन्टर बलमा डोनवेल मालनको पासमा डिपेले गोल गरेका हुन् । उनको यो नेदरल्यान्ड्सका लागि २८ औं गोल हो ।

दोस्रो हाफमा कप्तान विनाल्डम चम्किए । ५१ औं मिनेटमा डिपेको पासमा विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको ५८ औं मिनेटमा विनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को जित दिलाए । यस दुई गोलसँगै विनाल्डमले नेदरल्यान्ड्सका लागि २५ औं गोल पूरा गरेका छन् ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो ।नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ । समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन । पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको म्यासेडोनिया दोस्रो खेलमा युक्रेनसँग २-१ ले पराजित भएको थियो ।