चाँगुनारायणको बजेटः शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता

0
1475

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी शिक्षा, स्वास्थ्य, विकास पूर्वाधारलाई प्राथमिकता राखी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख विना बास्तोलाले आर्थिक वर्ष २०७८र७९ बजेट सार्वजनिक गरेकी हुन् ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९० करोड ६४ लाख ८४ हजार २ सय ५४ रुपैयाँ विनियोजन गरेको छ । बजेटअन्तर्गत १ अर्ब २४ करोड २ लाख ७४ हजार ७ सय ५४ र पुँजीगततर्फ ६५ दशमलव शून्य पाँच प्रतिशत रहेको छ ।

चालूतर्फ ६६ करोड ६२ लाख ९ हजार ५ रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोतको रूपमा रहेको व्यवसाय रजिस्ट्रेसन, सिफारिस, माटो पानी ठेक्का, घर नक्सा पास दस्तुरबाट २८ करोड ८४ लाख ५ हजार रुपैयाँ प्रक्षेपित आन्तरिक आय अनुमान रहेको छ ।

राजस्व बाँडफाँटबाट ८ करोड ९३ लाख ५३ हजार र सवारी साधनको राजस्व बाँडफाँटबाट ६ करोड २ लाख २७ हजार रुपैयाँ प्राप्त भएको उपप्रमुख बास्तोलाले बताइन् । वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट १७ करोड ४५ लाख र ससर्तबाट ३३ करोड ३ लाख रुपैयाँ प्राप्त भएको छ ।

नगरपालिकाको नगर कार्यपालिकाको आफ्नै भवनका निर्माण लागि ४ करोड रुपैयाँ छुट्याएको छ । नगरसभाले भौतिक पूर्वाधारतर्फ सडक तथा पुल निर्माणका लागि ५५ करोड ३६ लाख ६५ हजार ७६ रुपैयाँ विनियोजन गरेको छ ।

नगरका बेरोजगार युवालाई लक्षित गरी मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत युवाको सवद्र्धन उद्यमशीलता प्रवद्र्धन कार्यक्रमका लागि ३ करोड रुपैयाँ यो वर्ष पनि निरन्तरता दिइएको छ ।

नगरभित्रका मुख्य(मुख्य सडकमा बिजुली बत्ती व्यवस्थापन गर्न यो वर्ष ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाको सडक तथा यातायात क्षेत्रको विकासका लागि सडक निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधारसहित ८० करोड ८४ लाख ५६ हजार २ सय ९४ रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा एक घर, एक धारा कार्यक्रमअन्तर्गत नगरबासीको खानेपानीमा पहुँच सुनिश्चित गर्न खानेपानीमा १३ करोड ९३ लाख ८१ हजार ८ सय ४६ रुपैयाँ विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयमा छात्रा शिक्षा, बालविवाह निरुत्साहन र किशोरीको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि बचत खाता छोरीको, सुरक्षा जीवन भरको कार्यक्रममा ५५ लाख र प्राविधिक शिक्षालाई प्रोत्साहन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ ३ करोड २८ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।